एटा संवाददाता
काठमाडौं । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले उत्पादन लागतको आधारमा कृषि उपजको मूल्य निर्धारण गर्ने अधिकार कृषकहरुलाई दिनु पर्ने बताएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७७/०७८ माथिको मन्त्रालयगत छलफलमा भाग शनिबार सांसद तामाङले उक्त सुझाव दिएका हुन् । साथै उनले विचौलियाहरुको अन्त्य गर्ने कुरामा विशेषगरी ध्यान दिन अर्थमन्त्री युवराज खतिवडाको ध्यानाकर्षण गराए ।

‘कृषिमा उत्पादन बढाउने, आधुनिकीकरण, व्यावसायिकरण, चक्लाबन्दी गर्नेजस्ता धेरै कुराहरु आएका छन्,’ पूर्वमन्त्री रहेका सांसद तामाङले भने, ‘त्यत्तिमात्रै आएर हुँदैन, सम्माननीय सभामुखज्यू कृषकहरुको उत्पादन लागतको आधारमा उनको उपजको मूल्य निर्धारण गर्ने अधिकार कृषकहरुलाई दिनुपर्छ । त्यसका साथै विचौलियाहरुको अन्त्य गर्ने कुरामा विशेषगरी ध्यान दिनुपर्छ ।’
नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङले गत वर्ष आफ्नो जिल्लामा परेको कार्यक्रम काटिएको भन्दै त्यसबारे प्रस्ट पार्न माग गरे । ‘गत वर्षको बजेटमा विशेष आर्थिक कार्यक्रम परेको थियो, यसपटक देखिनँ । त्यसबारेमा के भएको हो ?’, उनले भने, ‘नुवाकोट राजधानीसँग जोडिएको ठाउँ भएकोले र कृषिमा सम्भावनायुक्त जिल्ला भएकोले कृषिमा आधारित उद्योग स्थापना गर्ने हिसाबले मन्त्रीज्यूले सोच्नु हुनेछ भन्ने मलाई लागेको छ ।’
कोरोना भाइरसको सन्दर्भमा गरिएको लकडाउनलाई लिएर लामो समय काम नपाउँदा ठेकेदार कम्पनीहरुले सम्झौता तोड्ने अवस्था आउन सक्ने भन्दै सांसद तामाङले त्यस्तो अवस्थामा काठमाडौं-रानीपौवा-त्रिशूली जोड्ने सडकको हालत के हुन्छ ? त्यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
यस्तै स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास, सेवा विस्तार गर्ने कुराहरु आए पनि पर्याप्त नभएको उनको टिप्पणी छ । सांसद तामाङले स्वास्थ्य सेवाको प्रभावकारीताका लागि जनशक्ति उत्पादनको विषयमा अलि गम्भीर भएर सोच्नु पर्नेमा जोड दिए । ‘यदि जनशक्ति विकास गर्न सकेनौं भने हामीले जतिसुकै बजेट केन्द्रित गरे पनि बजेट प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसक्ने र प्रतिफल दिने वातावरण बन्दैन भन्न लाग्छ’ उनले भने ।
भिडियो






