काठमाडौं । प्रतिनिधिसभाको बैठकले दुई तिहाई भन्दा बढी मतका साथ संविधानको दोस्रो संशोधन विधेयक २०७७ पारित गरेको छ ।.

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नेपालको सविधान दोस्रो संशोधन विधेयक २०७७ लाई दुई तिहाईभन्दा बढी मतले पारित गरेको हो । प्रतिनिधिसभा नियमावलि अनुसार गरिएको मत विभाजनमा संशोधन विधेयक पास गरियोस् भन्ने प्रस्तावको पक्षमा २ सय ५८ मत परेको हो ।
संविधान संशोधन विधेयक पारित गर्नका लागि तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमत आवश्यक पर्छ । सभामा उपस्थित सबै २ सय ५८ जनाले नै प्रस्तावको पक्षमा मतदान गरेका थिए । यसअघि प्रतिनिधिसभा नियमावलीको नियम १३७ को उपनियम ९ बमोजिम सभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने व्यवस्थाअनुसार सोही नियम १३७ को १० बमोजिम मत विभाजन गराइएको थियो ।
प्रतिनिधिसभाको नियमावलीको नियम १ सय ३७ को उपनियम ९ मा “संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा तत्काल कायम रहेका सम्पुर्ण सदस्य संख्याको कम्तिमा दुई तिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा विधेयक पारित भएको मानिने छ । ”
त्यसैगरी उपनियमा १० “संविधान संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव माथि सभाको निर्णय सदस्यको दस्तखत सहितको मत विभाजनद्धारा हुनेछ ।”
मतविभाजनमा जानु अघि ५ मिनेटसम्म घण्टी बजाएर बाहिर हुने सांसदलाई सभामा प्रवेश गराइएको थियो । यसअघि सनिबार नै विधेयकमाथि दफाबार छलफल गरिएको थियो ।
सरकारले अतिक्रमित भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरी नक्सा सार्वजनिक गरेपछि सो नक्सा अनुसार संविधानको अनूसूची ३ संशोधनका लागि जेठ ९ गते संघीय संसद् सचिवालयमा नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ दर्ता गराइएको थियो ।
बैठकको सुरुमा नै समाजवादी पार्टीकी सांसद सरिता गिरिले बैठक बहिष्कार गरी बाहिरिएका थिए ।
बैठकमा अनुपस्थितहरु
शनिबारको बैठकमा सांसदहरु अमृता देवी अग्रहरी, गोपाल बहादुर बम , दुलारी देवी खत्वेनी , धन बहादुर बुढा ,नागेन्द्र कुमार चौधरी, प्रमोद शाह, शिव कुमार मण्डल, सूर्य नारायण यादव, सूर्य बहादुर केसी , हरि बोल गजुरेल , ज्ञान कुमारी छन्त्याल अनुपस्थित थिए ।
सांसदहरु हरिनारायण रौनियार, रेशम चौधरी , मोहम्मत अफ्ताब आलम जेलमा , बिजय कुमार गच्छदार निलम्बित छन् ।






