एटा संवाददाता ।
लण्डन । लकडाउनका कारण बन्द भएका इंग्ल्याण्डका धेरैजसो पसलहरु आजबाट खुलेका छन् । बेलायत सरकारले शनिबारदेखि अधिकांश व्यवसायहरु खोल्ने अनुमति देखिपछि करीब १०० दिन पछि ईंग्ल्याण्डका रेष्टुरेन्ट, क्याफे, पब, हेयर सैलुन, होटल, बेड एण्ड ब्रेकफाष्ट, होलिडे अपार्टमेन्ट, क्याम्पिङ साइट, क्याराभान पार्कहरु संचालनमा आएको छ । सरकारले कोरोना भाईरसको प्रभावलाई हेरेर लकडाउन खुकुलो गर्दै आउने क्रममा शनिबार ४ जुलाई देखि अझै खुकुलो बनाएको हो । त्यस्तै, शनिबार देखिनै प्रार्थना गर्ने गुम्बा, मन्दिर, चर्च, मस्जीद लगायतका धार्मिक स्थलहरु पनि संचालनमा आएको छ । तर, त्यस्ता व्यवसाय वा सेवा प्रदान गर्ने ठाउँमा भने सामाजिक दुरी कायम गर्नुपर्ने छ ।

साथै, लाईबेरी, कम्युनिटी सेन्टर, थिएटर, कन्सर्ट हल, आउटडोर जीम, सोसियल क्लब, खेल मैदान, बाल उद्यान, संग्रहालय, बगैचा, चिडियाखान, बिंगो हल, सफारी पार्कहरु, वन्यजन्तु केन्द्र लगायतका स्थानहरु खोल्न अनुमति दिईएको छ । तर, कन्सर्ट हलहरुमा भने लाईभ कार्यक्रम संचालन गर्न पाइने छैन र धार्मिक पूजापाठ, बिबाह लगायतको कार्यक्रम सामाजिक दुरी कायम संगसंगै ३० जना भन्दा बढी सहभागी हुन नपाईने सरकारले जनाएको छ ।
सरकारले गत जुन देखि ईंग्ल्याण्डका विद्यालयमा नर्सरी, १ र ६ कक्षाको अध्ययन अध्यापन गराउदै आएको छ भने आउने सेप्टेम्बर देखि सबै शिक्षण संस्थाहरु सुचारु गर्ने जनाइएको छ । त्यस्तै, जुन १५ देखि आवश्यक नभएका पसलहरु संचालन गर्ने अनुमति दिइसकेको छ भने कोभिड–१९ को प्रभावलाई हेरेर नाइट क्लव, क्यासिनो, बलिङ, स्वीमिङ्ग, इनडोर जीमखाना आदि छिट्टै संचालनमा ल्याउने बताएको छ ।
त्यस्तै, स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सले समेत क्रमशः लकडाउनलाई खुकुलो बनाउदै आएको छ । र, ईंग्याल्याण्डको लेस्टरमा भने त्यहाँको परिस्थितिलाई हेरेर अझै दुईहप्ता लकडाउन कायमै गरिने समेत सरकारले जनाएको छ ।
यसैबीच बेलायतका विभिन्न स्थानमा नेपालीहरुद्वारा संचालित रेष्टुरेण्ट लगायतका व्यवसायहरु समेत शनिबारदेखि खोल्न थालेका छन् । नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसट, फार्नबोरोका धेरैजसो रेष्टुरेष्ट, बारबार लगायतका पसलहरु ग्राहकहरुको सेवामा जुटिसकेको हाम्रा स्थानीय संवाददाताले जनाएको छ ।

तस्बीरः मिलन तमु






