हुम तमु,
पोखरा, २७ असार
बिस वर्ष अघि युकेमा स्थापित तमु धिं युकेले गुरुङ फिल्म एशोसिएसन(जिफान) र तमु कलाकार संघ गण्डकीलाई २ लाख ५० हजार सहयोग गरेको छ।कोभिड १९ कोरोना भाइरस महामारीका कारण लामो लकडाउनले समस्यामा परेका चलचित्रकर्मी एवम तमु कलाकारहरु राहत सहयोग स्वरुप आज पोखरा ९ नयाबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा रकम हस्तान्तरण गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सदस्य मनबहादुर गुरुङ, तमु धिं युके तथा एनआरएन युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङले जिफानका अध्यक्ष भोजबहादुर गुरुङलाई १ लाख ५० हजार र तमु कलाकार संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङलाई १ लाख रुपैया सहयोग हस्तान्तरण गर्नुभएको हो।यस भन्दा अघि नै तमु धिं युकेले कोरोना राहत सहयोग १३ लाख ३६ हजार नेपालमा हस्तान्तरण र वितरण गरिए पनि जिफान र तमु कलाकार संघ गण्डकीबाट सहयोगको लागि आग्रह पश्चात तमु धिं युकेको कोरोना राहत सहयोग निरन्तरको नामले दोश्रो चरणको सहयोग प्रदान गरेको तमु धिं युकेको संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी दिनुभयो।

कार्यक्रममा प्रमुख अतिथि सांसद मनबहादुर गुरुङले दुखको होस वाअरु बेलामा नै किन नहोस निरन्तर सहयोग गरिरहने तमु धिं युकेलाई धेरै धेरै धन्यवाद व्यक्त गर्नुभयो।तमुहरु लगायत नेपालको हरेक क्षेत्रमा सहयोग गर्ने तमु धिं युकेको दुख सुखमा साथ प्राप्त भएकाले तमुहरु अरु सबैसँग हरेक क्षेत्रमा प्रतिष्पर्धी गर्न सक्ने बन्नुपर्नेमा जोड दिन अनुरोध गर्नुभयो।
तमु धिं नेपालकी प्रथम उपाध्यक्ष सरस्वती गुरुङले सहयोगी तमु धिं युकेलाई धन्यवाद व्यक्त गर्नुहुदै तमुहरुको समस्यामा, उन्नति र प्रगतिका लागि तमु अगुवाहरु विशेष ध्यान दिन आग्रह गर्नुभयो।
कार्यक्रमको संचालन तमु धिं युकेका नेपाल संयोजक मेजर लक्ष्मीप्रसाद गुरुङले तमु धिं युकेको स्थापना, विगतदेखि गर्दै आएको गतविधी र योगदानको बारेमा जानकारी गराउनुहुदै तमु र लाहुरेहरु एकताबद्ध भई उत्पादनमुखी कार्यमा लाग्न सके पोखरामा तमुहरुको शान अभिबृद्धि हुने बताउनुभयो। महिनामा ३ अर्ब रुपैया पेन्सन स्वरुप पुर्व सैनिकले प्राप्त गर्ने र एक महिनाको पेन्सन मात्रै वार्षिक रुपमा उत्पादनमा लगाउन सके उदाहरणीय कार्यहरु हुने दावी समेत गर्नुभयो।
उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद मनबहादुर गुरुङले तमु धिं युकेको राहत सहयोग हस्तान्तरण तथा वितरणमा अभिभावकत्व प्रदान गरेको भन्दै सम्मान गरिएको थियो भने तमु कलाकार संघ गण्डकी समितिका तर्फबाट अध्यक्ष सुरेन्द्र गुरुङले तमु धिं युकेका पुर्व अध्यक्ष मुछेत्र गुरुङ, नेपाल प्रतिनीधि मेजर लक्ष्मीप्रसाद गुरुङसहित तमु धिं युके चन्द्रबहादुर गुरुङ, भोजबहादुर गुरुङ, लालकाजी गुरुङ लगायतलाई खादा लगाएर स्वागत सम्मान गर्नुभएको थियो।






