
एटा संवाददाता ।
लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको सैनिक सहरको रुपमा परिचित बेलायतको अल्डरसटमा निर्माण गर्न लागिएको प्रथम भिक्टोरिया क्रस (भिसी) पदक प्राप्त गोर्खा भूतपूर्व सैनिक हवाल्दार कुलबिर थापाको शालिक निर्माण सहयोगार्थ चेक हस्तान्तरण गरेको छ ।
गत शनिबार ११ जुलाईका दिन स्थानिय रस्मोर बोरो काउन्सिलको प्राङ्गणमा स्यान्डर्स नेपाली कम्युनिटीका अध्यक्ष राम कुमार लिम्बुले एकहजार ५१ पाउण्ड, गोर्खा जिल्ला गुरुङ समाजका अध्यक्ष फडकजित गुरुङले एकहजार १ एक पाउण्ड, मगर सघ युके युनाईटेड ह्याम्पसायर, सर्रे, बक्सायर (युएचएसबी) शाखा अध्यक्ष हेमा रानाले एकहजार १०० पाउण्ड र इन्टेक १९८६ अध्यक्ष मेजर योगेश राईले एकहजार ९८६ पाउण्डको चेक आ–आफ्नो संस्थाको तर्फबाट शालिक निर्माणमा जुटिरहेको गोर्खा मेमोरियल स्ट्याच्यु प्रोजेक्टका कोर्डिनेटर मेजर खिम गौचन र ग्रेटर रशमोर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष रामधन राईलाई हस्तान्तरण गरेको हो ।
सो अवसरमा प्रोजेक्ट कोर्डिनेटर मेजर खिम गौचनले शालिक निर्माण बारे जानकारी गराउदै अन्य भिसी पदक प्राप्त भूतपूर्व गोर्खाजहरुको नाम समेत उल्लेख गर्ने बारे छलफल भैरहेको बताए । त्यस्तै, ईन्टेक १९८६ का अध्यक्ष राई लगायतले शालिक निर्माणप्रति चासो राख्दै विभिन्न सल्लाह र सुझावहरु समेत दिएका थिए ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा गोर्खा जिल्ला गुरुङ समाजका महासचिव मान गुरुङ, कोषाध्यक्ष दिनेश गुरुङ, मिडिया कोर्डिनेटर सूर्यमान गुरुङ, मगर सघ युके युएचएसबी शाखा कोषाध्यक्ष गणेश बुढाथोकी, सचिव बिर बलाल, इन्टेक १९८६ का जगत थापा, प्रोजेक्ट म्यानेजर क्याप्टेन ग्यारी घले, जीआरएनसी कोषाध्यक्ष टोप पल्ली, शेष कुमारी पल्ली लगायतको उपस्थिति रहेको जीआरएनसीका उपाध्यक्ष मान गुरुङले जानकारी दिए ।
यसैबीच उक्त शालिकको सहयोगमा एक हजार पाउण्डको दरले १२५ जनाको मात्र सहयोग लिने योजना बनाईएको भएता पनि धेरै संघसंस्थाहरुको सहयोग चाहना बढ्दै गएकोले हालसम्म १४० जनाले सहयोग गरिसकिएको र भिसीको शालिकको आकार बढाउनुका साथ स्तरिय बेशको निर्माण गर्ने निर्णय भएको प्रोजेक्ट प्रवक्ता ओम थापाले जानकारी गराए ।
जीआरएनसी युकेको बिशेष पहलमा निर्माण गर्न लागिएको उक्त प्रथम भिसी थापाको शालिक एक लाख २५ हजार पाउण्डको बजेटमा निर्माण गर्न लागिएको भएता पनि बेलायतस्थित नेपाली संघसंस्थाहरुमा सहयोग गर्ने चाहना बढ्दै आएको हुनाले अपेक्षा गरिएको भन्दा बढी रकम संकलन भएको प्रोजेक्ट कोर्डिनेटर मेजर खिम गौचनले एभरेष्ट टाईम्स संगको फेसबुक लाईभमा बताए । साथै, उनले उक्त शालिक सन् २०२१ को सेप्टेम्बर महिनाअगावै निर्माण गरी उद्घाटन गर्ने योजना रहेको जनाए ।
तस्बीरः सूर्यमान गुरुङ







