एटा संवाददाता ।
लण्डन । तमु समाज युकेले कोरोना भाईरस महामारीका कारण भएको लकडाउनको अवस्थामा पनि जोखिम मोल्दै पोखरामा राहत वितरण गरेर हालै लण्डन फर्किएकी तमु समाज युके आमा समूहकी निबर्तमान अध्यक्ष माया गुरुङलाई एक बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । उनले करीब साढे ३ महिनाको नेपाल बसाईको क्रममा पोखरा सहर वरिपरी लकडाउनबाट प्रभावित बिपन्न परिवारहरुलाई तमु समाज युके र अन्य सहयोगी महानुभावहरूले संकलन गरि पठाएको राहत वितरण गरेका थिए ।

तमु समाज युकेकी आमा समूहकी संस्थापक अध्यक्ष समेत रहेकी माया गुरुङले समाजले पठाएको राहत सामाग्री, विभिन्न व्यक्ति, समूह र संघसंस्थाले संकलन गरी पठाएको राहत रकमलाई स्थानीय निकाय संग समन्वय गरी लकडाउनबाट अत्यन्त प्रभावित करीब १००० परिवारलाई राहत वितरण गरी समाजको समेत नाम उच्च राख्न सफल भएकोमा सो कार्यको उच्च कदर गर्दै सम्मान गरिएको हो ।
सो सम्मान कार्यक्रममा समाजका अध्यक्ष शिवचन्द्र गुरुङ, पूर्व अध्यक्ष अर्जुन कुमार गुरुङ, उपाध्यक्ष शिवकुमार गुरुङ, उपाध्यक्ष कन्या गुरुङ, आमा समूहकी अध्यक्ष विन्दु घले, सल्लाहकारहरु लगायत सहभागीहरुले खादा, सल र पूmलको गुच्छा लगाई दिदै उनको उज्ज्वल भविष्य तथा सुस्वास्थ्यको कामना गर्दै हार्दिक आभार व्यक्त गरेका थिए । समाजका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रमलाई महासचिव हर्क बहादुर गुरुङले संचालन गरेको समाजका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले जानकारी दिए ।






