नेपालमा भदौ ३१ सम्म अन्तर्राष्ट्रिय सीमानाका बन्द [यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु]

SHARE:

काठमाडौं २७ साउन । नेपाल सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन रोकेकोमा सरकारले कोभिड–१९ सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि सीमानाका बन्द गर्ने निर्णय गरेको जानकारी दिए ।

मन्त्रिपरिषद्को गत जेठ १२ गतेको निर्णयबमोजिम जारी भएको ‘कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी आदेश, २०७७’ बमोजिम स्थलमार्गबाट नेपाल प्रवेश गर्न तोकिएका प्रवेश बिन्दुबाट नेपाल प्रवेश गर्न दिने व्यवस्था र मालसामानको ढुवानी व्यवस्थालाई भने यथावत कायम राख्ने निर्णय गरेको मन्त्री डा खतिवडाले बताए ।

सरकारले उक्त आदेशको पालना नगरी सीमानाकाबाट प्रवेश गर्ने गराउने र प्रवेश गरेका मानिसलाई लुकाउने कार्य गरे गराएमा प्रचलित कानूनबमोजिम कारवाही गर्ने भएको छ । बैठकले सरकारले विश्वव्यापी महामारीको रूमलिएको कोभिड–१९ को सङ्क्रमणको रोकथाम, नियन्त्रणका लागि सरकारले सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको आदेश जनताको जीवन रक्षाका लागि भएकाले हालसम्म उक्त आदेशको पालना गरी गरेकोमा धन्यवादसमेत दिएको छ ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी गरिएको आदेश र नेपालका अन्तर्राष्ट्रिय सिमानाकामा रहेका नेपाल प्रवेश गर्ने सबै प्रवेश बिन्दु र खुला सिमानाको जुनसुकै स्थानबाट हुनसक्ने यात्रुको आवागमन स्थगित गर्ने कार्यको पूर्णपालना गरी गराई सहयोग पु¥याउनु हुन सरकारले सबैसँग आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को गत साउन ५ गतेको निर्णयानुसार जारी भएको आदेशमा हेरफेर तथा थपघट गर्ने गरी राजपत्रका प्रकाशन गर्नेसमेत निर्णय गरेको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात, हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको सरकार प्रवक्ता डा खतिवडाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को निर्णयानुसार अब होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा मात्र पाउने भएका छन् ।

विद्युतीय माध्यमबाट काम गर्न निर्देशन

बैठकले कोभिड–१९ सङ्क्रमणका सक्रिय सङ्क्रमित २०० बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घ–संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घ–संस्थाले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने निर्णय गरेको उनले बताए ।

ती निकायको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई सुरक्षितरूपमा घरबाटै सम्पादन गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने निर्णय गरिएको छ । अनलाइन, भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न सम्भव नहुने र बढी जनसम्पर्क हुने कार्य अर्का निर्णय नभएसम्मका लागि स्थगित गर्ने, सेवा प्रवाह र जनशक्ति व्यवस्थापनको जिम्मेवारी जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सम्बन्धित कार्यालय प्रमुखको हुने निर्णय गरेको मन्त्री डा खतिवडाले जानकारी दिए ।

बैठक, भेला गर्न रोक
यस्तै मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य र सुरक्षालगायतका आधारभूत सेवाप्रवाहलाई निरन्तरता दिन जनशक्ति, जनशक्तिलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री, आवश्यक सुरक्षा प्रबन्ध र अनुकूल कार्य वातावरण बनाउन सम्बन्धित मन्त्रालयका सचिवले आवश्यक कार्ययोजना तयार गरी प्रभावकारीरूपमा कार्य सञ्चालन गर्ने/गराउने निर्देशन दिएको छ ।

धार्मिकस्थलमा भीडभाड नगर्न आग्रह
कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको देखिएकाले धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने÷नगराउनेसमेत निर्णय गरेको छ । सरकारले चाडपर्व आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउने भनेको छ ।

दैनिक उपभोग्य वस्तुलगायत पूर्वाधार निर्माणमा आवश्यक सामग्री आपूर्ति गर्दा सो कार्यमा संलग्न चालक, सहचालक तथा अन्य व्यक्तिले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालनामा कमी भएको देखिएकाले सम्बन्धित व्यवसायी, उद्योगी एवं सामाजिक सङ्घ–संस्था, सामुदायिक संस्था र सहकारीले अनिवार्य रूपमा सामाजिक दूरी कायम गर्नुका साथै मास्क, स्यानेटाइजरजस्ता न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्ने निर्देशन दिएको मन्त्री डा खतिवडाले बताउनुभयो ।

बैठकले शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर तथा स्पा, स्वीमिङपुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकूद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्चालनमा निषेध गरेको उनले बताउनुभयो ।

यसैगरी बैठकले काठमाडौँ भक्तपुर र लतिलपुर जिल्लाभित्र आवतजावत गर्नेबाहेक कोभिड–१९ को सक्रिय सङ्क्रमित सङ्ख्या २०० भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र तथा स्थानीय प्रशासनको अनुमतिबाहेक आवतजावत रोक लगाएको छ ।

फुटपाथ र खुला ठाउँ र ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडालगायतका खुद्रा व्यापार व्यवसाय एव कवाडी सङ्कलनजस्ता कार्य जथाभावीरूपमा सञ्चालन हुँदा भीडभाड बढ्ने र कोभिड–१९ को सङ्क्रमण समुदायस्तरसम्म विस्तार हुने जोखिम बढेकाले यस्ता कार्यलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय गरेको छ ।

सरकारले उद्योग, कलकारखानालगायत व्यवसाय सञ्चालन गर्ने व्यवसायीले हाल उद्योग व्यवसाय सञ्चालन गर्न, निजी तथा सार्वजनिक निर्माणका काममा लगाइएका श्रमिकलगायतका जनशक्तिलाई अनिवार्यरूपमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवलम्बन गर्न लगाई उद्योग र कलकारखाना, सार्वजनिक तथा निजी निर्माणको परिसरभित्रै सुरक्षितरूपमा खाने बस्ने व्यवस्था गर्ने निर्देशन दिएको छ ।

बैठकले हाललाई अन्यत्र स्थानबाट कामदार नल्याउने र कोभिड–१९ सङ्क्रमणका कारण भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न सम्बन्धित उद्योग व्यवसायले आफ्नो क्षेत्रभित्र आवश्यक क्वारेन्टिन तथा आइसोलेसनलगायतका पूर्वाधारको प्रबन्धसमेत गर्न निर्देशन दिएको छ ।

५०० जनाका लागि उडान भर्न अनुमति

मन्त्रिपरिषद्को निर्णयबमोजिम अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २०० जना नेपाली नागरिकसमेत गरी दैनिक कुल ५०० जनाको सङ्ख्यामा नबढ्ने गरी उडान अनुमति दिएको उनले जानकारी दिए ।

मन्त्री डा खतिवडाका अनुसार सरकारले हाल सङ्क्रमणको दर बढेका, सङ्क्रमणको उच्च जोखिममा रहेका एवं आवश्यक मात्रामा स्वास्थ्यकर्मीको अभाव देखिएका स्थानमा स्वास्थ्य मन्त्रालयबाट तत्काल आवश्यक जनशक्ति खटाई स्वास्थ्य सेवालाई सुदृढ र प्रभावकारी गराउने निर्णय गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!