डोटी र पाल्पामा सवारी दुर्घटनामा ५ को मृत्यु, ३८ जना घाइते

SHARE:

काठमाडौं २८ साउन । डोटी र पाल्पामा सवारी दुर्घटना हुँदा ५ को मृत्यु भएको छ । घटनामा ३८ जना घाइते भएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस बुधबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए ।

बस सडकबाट ३० मिटर तल खसेको थियो । वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

यस्तै पाल्पाको निस्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु१ज २८८७ नम्बरको जीप गल्धाको पटकसर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा निस्दी गाउँपालिका–५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी–४, मित्याल काफलका तीन महिने बालक रहेका छन् ।

त्यस्तै घाइते हुनेहरूमा निस्दी–५, गल्धाका ३८ वर्षीया सुमित्रा सारु, ३६ वर्षीया सेरमती सारु, २० वर्षीया लक्ष्मी सारु, ३७ वर्षीया तिलकुमारी सारु, निस्दी–४, मित्याल झ्यालतुङका २५ वर्षीया सृजना गाहा र निस्दी मित्यालकै, २२ वर्षीया विष्णुमाया सारु रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार घाइतेहरूलाई उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा पठाइएको छ ।

जीप सडकदेखि करिब सात सय मिटर तल खसेको छ । दुर्घटनापछि चालक र सह–चालक भने फरार रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!