
काठमाडौं १ भदौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बनाएको कार्यदललाई अनुमोदन गरिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको पार्टी सचिवालय बैठकले महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष ओली र अप्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव नेतृत्वमा ८ सदस्यीय कार्यदल बनाएको थियो ।
तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए । त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
महासचिव पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । नेकपाको साउन ४ गते पछि सोमबार सचिवालय बैठक बसेको हो । विवाद मिलाउन नसक्दा असार १० देखि सुरु भएको स्थायी कमिटी बैठकले अहिलेसम्म पूर्णता पाएको छैन ।
सरकार र पार्टीमा प्रभावकारी भूमिका खेल्न प्रधानमन्त्री एवं अध्यक्ष एवं चुकेको र प्रधानमन्त्री वा अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने पक्षमा प्रचण्ड, नेपाल र खनाल समूहको मत छ । तर ओलीले महाधिवेशनअघि नहट्ने अडान लिइरहेका छन् । जसकारण नेकपाभित्र पदीय भागबन्डामा लडाइँ चलिरहेको छ ।
कार्यविभाजनको झगडाले गर्दा कोरोना भाइरस महामारीमा सत्ताघटक नेकपा विवाद चर्किएपछि चौतर्फ आलोचना भइरहेको छ ।







