मकवानपुर १ भदौ । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपसभामुख तामाङको सोमबार कोरोना संक्रमण रिपोर्ट पोजिटिभ आएको हो । उनीसहित ९ वर्षीय छोरालाई समेत कोरोना संक्रमण पुष्टि भएको तामाङका श्रीमान् एवम् नेकपा नेता डिबी तामाङले जानकारी दिए । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।
नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिका–६ का वडाध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा उपभासमुखको स्वाब परीक्षण गरिएको थियो । काठमांडौंको कार्यक्रममा सहभागी भएर फर्केपछि सामान्य रुघाखोकी र घाँटी खस्खस्याउनेजस्तो अनुभव महसुस गरेको उपसभामुखले सुनाएको तामाङले बताए ।
वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको क्रममा स्वाब परीक्षण गराउँदा सोमबार रिपोर्ट पोजिटिभ आएको हो । दुई जनाबाहेक उपसभामुखको सचिवालयको सबैका अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।






