
तस्बिर : मिलन तमु
काठमाडौं ५ भदौ ५ । हिन्दु महिला दिदीबहिनीहरुले शुक्रबार तीज चाड मनाउँदैछन् । यो पर्व हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन मनाउने गरिन्छ ।
अघिल्लो दिन आडिलो र पोषक दर खाएर बसेका महिलाहरुले तीजका दिन पानी समेत नपिइ आफू, आफ्ना सन्तान र पतिदेवको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने चलन छ । पछिल्लो समयमा व्रत बस्ने तरिकामा भने परिमार्जन हुँदै आएको छ । कमले मात्र निराहार व्रत बस्ने गरेका छन् । तीजका दिन विहानै नुहाइ धुवाइ गरी भगवान शिवको आरधना गर्दै महिलाहरु नाचगान र रमाइलो गर्नमा ब्यस्त हुने गरेकोमा यसपाली कोरोना भाइरसको महामारी र निषेधाज्ञाका कारण व्रत बस्नेदेखि गरिने क्रियालापमै असर परेको छ ।
धर्मशास्त्रविद् एवं नेपाल पन्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सरकारको आदेश पालना गर्दै तीज मनाउने दिदीबहिनीले घरमै बसेर तीज मनाउन आग्रह गरे । उनी व्रतका दिन विभिन्न शिवालय जानुको सट्टा घरमै शिव थापेर विधिपूर्वक पूजा गर्न सुझाव दिन्छन् । ‘मनमा चङ्गा त हातमा गङ्गा भनेझै घरमै विश्वास गरेर ऊँ नमः शिवाय जप गरी व्रत वस्न सकिन्छ’ , उनले भने, ‘यस्तो बेला भिड जम्मा गरेर हासी खुसी गर्दै नाच गान रमाइलो गर्नु उचित हुन्न, संक्रमणको खतरा हुन सक्छ ।’
धर्मशास्त्रले मनले मात्रै पनि भगवानको स्तुती गरे पुग्ने भनिएको उनी बताउँछन् । यस्तो विषम परिस्थितीमा ज्यानै जोखिम राखेर व्रत बस्ने, मन्दिर जाने, मान्छे जम्मा गरेर रमाइलो गर्न हुँदैन, उनले भने ।






