
काठमाडौं ६ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भने ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभरका प्रयोगशालामा १२ हजार ५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ सहित ६३४ जना नयाँ संक्रमित फेला परेको जानकारी दिइएको हो । काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार मृत्यु हुनेमा सुनसरीका २ जना रहेका छन् । सुनसरीका ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । पर्साका ६१ वर्षीय, ५८ वर्षीय र ४८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ । बाराका ५८ वर्षीय, सिरहाका ६८ वर्षीय, मकवानपुरका ५६ वर्षीय र भक्तपुरका ७३ वर्षीय व्यक्तिको मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबार अपराह्नसम्म १४६ पुगेको छ ।






