प्यूठान स्थायी घर भई हाल काठमाडौंमा अस्थायी रूपले बस्दै आएका भावेश भुमरी चीरपरिचित नाम हो नेपाली साहित्य र गीतसङ्गीतमा । विशेषतः गीत लेखनमा उनको नाम अग्रपंतिमा आउँछ । कवितासंग्रह, गीतसंग्रह र गीतिएल्बम गरेर एक दर्जनभन्दा बढी कृतिहरू पस्किसकेका भावेश बेलायत भ्रमणमा आउँदै छन् ।
कविता लेखनबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका भावेश गत दुई दशकयता अति नै प्रचलित आधुनिक गीत रचना गरेर तिनमा प्रख्यात सङ्गीतकार र गायक गायिकाहरूको सङ्गीत र स्वर भर्न लगाई एल्बमहरू नकाल्दै आएका छन् र आफ्नो नाम अगाडि बढाइरहेका छन् । उनका गीतसंग्रहहरू भिरफूलको छाया, भिजेको चिठी, भित्र छ फूलको साँध, भीडभित्र छु बिरानो म हुन् भने गीतिएल्बम भरोसा, भावना, भूमिका, भिन्नता, भूगोल र भाषा हुन् ।
भोक इल्टा नाघेर सेलाउँछ उनको कवितासंग्रह हो । उनका गीतमा कुमार सुब्बा, ओम गुरुङ, रवीन शर्मा, लोचन भट्टराई, विमला राई, सपनाश्री, लासिमीत राई, शम्भू राई, कुवेर राई, थुप्देन भुटिया, रामकृष्ण ढकाल, महेश सेवा, स्वरूपराज, रिमा गुरुङ ‘होडा’, अन्जु पन्त, प्रशान्त तामाङजस्ता विशिष्ट एवम् लोकप्रिय गायकगायिकाहरूले स्वर दिएका छन् भने दिव्य खालिङ, दिनेश सुब्बा रत्नबहादुर, प्रदीप क्षेत्री, शिलाबहादुर मोक्तान, सचिन सिंह, सुरेश अधिकारी, बीबी अनुरागीजस्ता सङ्गीतकारहरूले सङ्गीत भरेका छन् ।
मगर संघ युके, विश्व नेपाली साहित्य महासंघ केन्द्र र बेलायत शाखाको निमन्त्रणामा आउँदै गरेका वरिष्ठ गीतकार भावेशले आधा दर्जन कार्यक्रममा आफ्नो सहभागिता जनाउने भएका छन् । जुन ३ मा हुँदै गरेको वातावरण साहित्य गोष्ठी लन्डन उनको पहिलो कार्यक्रम हुनेछ । त्यहाँ उनले नेपाली साहित्यमा इको राइटिङका बारेमा बोल्ने योजना छ । त्यसपछि जुन ९ मा नेपाली ओपन कन्सर्ट फर्नबरोमा विशिष्ठ अतिथिको रूपमा उनले आफ्नो सहभागिता जनाउने छन् । अगस्टको १२ तारिख अन्तर्राष्ट्रिय साहित्य सम्मेलन भ्याएर नेपाल फर्कने योजना छ । उक्त सम्मेलनमा उनको एक कार्यपत्र पेस गर्ने योजना रहेको छ ।
अति नै मिलनसार, भद्र र सहयोगी भावेशका बेलायतमा सयौं शुभचिन्तकहरू छन् भने भावेशले पुस्तक र एल्बममा प्रकाशनमा सम्पादन या संयोजनको भूमिका निभाएर सहयोग पुरु¥यादिएका दर्जनौं साथीहरू पनि हुनुहुन्छ । भावेशको बेलायत भ्रमणमा यी साथीहरुको पनि हरतरहको सहयोग रहेको छ । र, ती मित्र तथा शुभचिन्तकहरूले आयोजना गर्ने सानातिना कार्यक्रमहरूमा पनि भावेशको सहभागिता रहने छ ।
बेलायत नेपाली गीतकार, सङ्गीतकार र साहित्यकारहरुको तीर्थस्थल भने पनि हुन्छ अनि यहाँ तीनचार दर्जनभन्दा बढी गीतकार रहेको अनुमान लगाउन सकिन्छ । यस बेल्पाली भूमिले केही प्रतिष्ठित गीतकारहरूलाई पनि जन्म दिएको छ । यस्तो अवस्थामा नेपालमा राष्ट्रियस्तरका थुप्रै पुरस्कार, म्युजिक अवार्ड र मानसम्मानले सम्मानित भइसकेका र नेपाली गीतमा विशेष दक्षता हासिल गरेका भावेशको बेलायत भ्रमणले अवश्य नै महत्वपूर्ण भूमिका खेल्ने छ । यसै अवसर छोपेर गीतकारहरूबीचमा अन्तरक्रिया र गीतलेखनसम्बन्धी कार्यक्रमहरू राखिने योजना पनि छ । भावेश नेपाली भाषा र व्याकरणका दक्ष शिक्षक भएकाले समय मिलेमा भाषा र व्याकरणसम्बन्धी कार्यक्रम पनि राखिने छ ।
भावेश गीत, सङ्गीतमा साधना र संघर्ष गर्ने एक अब्बल व्यक्तिको नाम हो । नेपाली साहित्यमा मास्टर डिग्री गरेका भावेशको जागिर भने बोर्डिङ स्कुलको प्रिन्सिपल र अध्यापन हो । बाँकी रहेको समय आफ्नै म्युजिक कम्पनी र गीत रेकर्डिङ स्टुडियोमा गीत सङ्गीतका कार्य गरेर अरुलाई सेवा पुर्याउनु हो ।






