नगेन्द्रराज नेम्वाङ
लन्डन । किरात याक्थुङ चुम्लुङ युके (कियाचु) द्वारा वर्षेनी मनाउँदै आएको सिसेक्पा तङ्गनाम आगामी १४ जुलाई २०१८ मा आयोजना गरिने भएको छ ।
गत शनिबार २६ मे का दिन फेल्थाममा बसेको कियाचु युकेको तेस्रो बैठकले सो निर्णय गरेको हो । बैठकमा गत अप्रिल महिनामा कियाचु युकेद्वारा खेलाइएको यलम्बरहाङ्ग कप फुटबल प्रतियोगिताको समेत समीक्षा गरिएको थियो । बैठकमा यलम्बरहाङ्ग कप संयोजक दिपेन्द्र याक्सोले समीक्षाको क्रममा ११ औं यलम्बरहाङ्ग कपमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न व्यक्ति, संघसंस्था र प्रायोजकहरुलाई धन्यवाद दिए ।
बैठकमा उपस्थित सल्लाहकारहरु, कार्यसमिति, शाखा अध्यक्षहरु र एरिया प्रतिनिधिहरुले आ–आफ्ना जिज्ञासा राख्दै ११औं यलम्बरहाङ्ग कप सफल भएको र केही कमीकमजोरी आउँदो खेलमा सुधार गर्नुपर्ने सुझाव दिए । सो अवसरमा कोषाध्यक्ष धनकुमार काम्बाङले यलम्बरहाङ्ग कपको आय–व्यय पेस गरेका थिए ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्वाङले आगामी जुलाईमा आयोजना गर्न लागिएको सिसेक्पा तङ्गनाम कार्यक्रमको रुपरेखा प्रस्तुत् गरेका थिए । त्यस्तै, चुम्लुङ्गदेन खरिद सहसंयोजक क्याप्टेन महेन्द्र लिम्बुले चुम्लुङ्गदेन खरिद प्रक्रियाबारे जानकारी गराउँदै खरिद गर्न लागिएको जग्गाभन्दा अरु अझै राम्रो उपयुक्त जग्गा वा प्रोपर्टी भेटिएमा विकल्प सोच्न सकिने बताए ।
त्यस्तै, सहअध्यक्ष तिलविक्रम सम्बाहाङ्फेले हालसम्म चुम्लुङ्गदेन खरिदका लागि संकलन भएको रकमको विवरण प्रस्तुत् गरेका थिए । सो अवसरमा अध्यक्ष डिलसिं मेन्याङ्बोले चुम्लुङ्गदेन खरिदमा सहयोग पु¥याउने उद्देश्यका लागि आउँदो २४ जुन साँझ फन्डराइजिङ्ग कार्यक्रम आयोजना गर्न लागिएको बताउँदै सो कार्यक्रमका लागि नेपालबाट ३ जना कलाकारहरुको उपस्थिति हुने पनि बताए ।
बैठकको सुरुआतमा हालै स्वर्गारोहण भएका संरक्षक र सदस्यहरुको सम्झना र सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो । त्यस्तै, स्वर्गीय तुलसी लाबुङको नाममा संकलन गरिएको सहयोग रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्नका लागि सहकोषाध्यक्ष दिपेन्द्र याक्सोले अध्यक्ष दिलसिं मेन्याङ्बोलाई हस्तान्तण गरेका थिए ।
बैठकमा थरक शाखाबाट उपस्थित सदस्य युवराज इस्बो तथा गायिका इन्द्र पङ्गधाक लिम्बुले चुम्लुङ्गदेन खरिदका लागि डायमण्ड मेम्बरसीप बन्नका लागि पहिल्यै ११०० पाउन्ड बुझाई सकेको र थप २२२५ पाउन्डको चेक अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।
कियाचु युकेका अध्यक्ष दिलसिं मेन्याङबोको अध्यक्षतामा सम्पन्न बैठक महासचिव गणेश इजमले सञ्चालन गरेका थिए ।






