
काठमाडौं १५ भदौ । नेपाल सरकारले गैरआवासीय नेपाली (एनआरएनए) लाई नेपाल आउन दिने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने
निर्णय भएको सोमबारको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएका थिए ।
त्यस्तै सरकारले विदेशबाट दैनिक ८०० नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दैनिक ५०० जनासम्मको मात्रै उद्धार गर्ने गरेकोमा अब ८०० जनासम्मको उद्धार गर्ने निर्णय गरेको हो । विदेशमा रहेका नेपालीको उद्धार नियमित र चार्टर फ्लाइटमार्फत पर्यटन मन्त्रालयले आवश्यकताअनुसार गर्नेछ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।






