हुम तमु
पोखरा १७ भदौ । जिल्ला प्रहरी कार्यालय कास्कीको महिला सेल प्रमुख इन्स्पेक्टर चन्द्रा गुरुङ नेपाल प्रहरीको दोस्रो महिला गुल्मपति बनेकी छन् ।
प्रहरी सहायक निरीक्षक (असई)बाट २०४९ सालमा नेपाल प्रहरीको जागिर सुरु गरेकी स्याङ्जा सिरुवारीकी इन्स्पेक्टर गुरुङलाई प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभाग, प्रशासन उपशाखाले सशस्त्र प्रहरी गुल्म, पोखराको गुल्मपति बनाएर काज सरुवा गरेपश्चात उनी पूर्णिमा चन्दपछि नेपालकै दोस्रो गुल्मपति बनेकी हुन् ।
नेपाल प्रहरीको पहिलो महिला गुल्मपति पछि पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति बन्दै हाल प्रहरी नायव उपरिक्षक (डिएसपी) पदमा कार्यरत रहेका छन् । २०६७ सालमा इन्स्पेक्टरमा बढुवा भएकी गुरुङ गुल्मपति बन्दै पहिलोपटक कार्यालय ईञ्चार्ज भएकी छन् ।
गुल्ममा इन्स्पेक्टरको नेतृत्वमा ११० जना प्रहरी रहने गर्दछ । गुल्ममा सशस्त्र हतियारसहितको तालिम दिनुका साथै अनुशासन पनि सिकाइने गरिन्छ । यो प्रहरीको आपतकालीन ब्याक फोर्स पनि भएकाले अनुशासनसँगै कमाण्ड कन्ट्रोल गर्ने, बल प्रयोग गर्दा कस्तो तरिका अप्नाउनेलगायत बारे पनि प्रशिक्षण दिइन्छ।
गुल्मपति गुरुङ वर्तमान नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) शैलेश थापा क्षेत्रीकी ब्याच हुन् । यद्यपि आईजिपी थापाले ईन्स्पेक्टरबाट आफ्नो प्रहरी जीवन सुरु गरेका थिए । ईन्स्पेक्टर गुरुङले प्रहरी जीवनको झण्डै दुई दशक प्रहरीको महिला तथा बालबालिका सेलमा रहेर काम गरे भने अधिकांश समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला तथा बालबालिका सेलमा काम गरेर सबैको मन जितेकै कारण धेरैले जिप्रका कास्कीको महिला तथा बालबालिका सेल भनेकै चन्द्रा गुरुङ हो भन्ने बुझाई जस्तो समेत बनेकाचे छ ।
कहींकतै हुलदंगा होस वा आन्दोलन हुँदा त्यसमा समन्वय गर्ने र विवाद समाधानका लागि पनि भुमिका निर्वाह गर्दै एसपीले खटाउने गर्दथे । गुल्मपति गुरुङ २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्यांकनमा परेर महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित भएकी थिइन् ।
नेपालकै दोस्रो गुल्मपति हुन पाएकोमा गौरवान्वित महशुस गरेको ईन्स्पेक्टर गुरुङले बताइन् । उनले आफ्नो प्रहरी जीवनको झण्डै ३ दशकको अनुभव गुल्ममा सदुपयोग गर्दै देशकै उत्कृष्ठ गुल्म बनाउने दावी गरिन् ।






