काठमाडौं १८ भदौ । पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसीले सत्याग्रह स्थगित गरेका छन् । उनले बिहीबार प्रेश विज्ञप्ति जारी गरी जुम्लामा पुन : सत्याग्रह स्थगित भएको जनाएका हुन् ।
उनले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गरेका थिए ।
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडिजिपी इन जनरल प्राटिक्स, एमडी इन एनेष्थेसिया, एमडी इन पेडियाट्रिक्स गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको गरिसकेको छ । प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले तीन विधाका पाँच सिटमा विशेषज्ञ चिकित्सा शिक्षा यही शैक्षिक वर्षभित्र अध्ययन अध्यापन हुने बताउँदै केही महिनापछि एमबिबिएस पढाइ हुने जानकारी दिए ।
यस्ता छन् डा केसीका पछिल्ला माग
डा केसीले पछिल्लो समय राख्नुभएको मागमा प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस सञ्चालन, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन र सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन रहेका छन् ।






