
काठमाडौं १८ भदौ । नेकपाले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्यमा सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने जानकारी गराएका थिए । बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभाका एक रिक्त सदस्यका लागि पार्टीको निर्णयानुसार नै सरकारका तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारका तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । यसअघि अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई समेत सरकारको सिफारिशमा राष्ट्रियसभा सदस्यमा राष्ट्रपतिले नियुक्त गरेका थिए । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन सदस्य नियुक्त गर्ने प्रावधान छ ।






