सिन्धुपाल्चोक २८ भदौ । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएकामध्ये ५ जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा उद्धारमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।
लगातारको वर्षाले जिल्लाको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा शनिबार राति खसेको पहिरो गएको थियो । इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा ७ घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिए । नागपुजेमा कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको खबर छ ।

सभामुख सापकोटा पहिरोस्थलमा
सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका हुन् ।






