काठमाडौं १ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले बिहीबार राष्ट्रिय सभा सदस्यमा पद तथा गोपनियताको शपथ लिएका हुन् । बिहीबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।
सरकारबाट राष्ट्रियसभा सदस्यमा सिफारिस भएका गौतमलाई बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेकी थिइन् । शपथग्रहणपछि गौतमले राष्ट्रिसभाको गरिमा र प्रतिष्ठालाई ध्यानमा राखेर काम गर्ने बाहेक आफ्नो अरु कुनै लक्ष्य नरेहको बताए ।
फागुनदेखि रिक्त रहेको राष्ट्रियसभा सदस्य पदमा मनोनयनका लागि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । गौतम २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए ।






