काठमाडौं असोज २ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गरेका छन् ।
प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित शुक्रबार (असोज–२ गते) पहिरो प्रभावित क्षेत्रमा पुग्नु भएका मन्त्री गुरुङले पीडितलाई अत्यावश्यक खाद्यन्न, त्रिपाललगायतका राहत सामग्री वितरण गरेका हुन् । गत भाद्र २२ गते बिहान लापिलाङस्थित रानीवन भीर भत्किएर काँडाबारी बस्तीका पस्दा ९ वटा घर पूर्ण रुपमा तथा ३२ घर आंशिक रुपमा क्षति हुँदा २६ घर परिवार पूर्ण रुपमा विस्थापित हुन पुगेका थिए भने २ सय ४७ घर परिवार प्रभावित भएको थिए ।
मन्त्री गुरुङले पहिरोले बिचल्लीमा परेका पीडितसँग भेट गरी उनीहरुलाई राहत वितरण गरेका हुन् । त्यस अवसरमा बोल्दै उनले पीडितहरुको जिम्मा राज्यले लिने बताए । उनले विपत्तिको यो बेला पीडितका लागि राज्य छ भन्ने अनुभूति दिलाउने गरी आवश्यक व्यवस्था मिलाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
मन्त्री गुरुङले स्थानीय सरकार र प्रदेश सरकारलाई पीडितका लागि राहतको आवश्यक व्यवस्था मिलाउन पनि आग्रह गरे ।
पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, प्रदेश सांसद पशुपति चौंलागाईले पनि पीडितका लागि आवश्यक राहतको व्यवस्था गर्न पहल गर्ने बताएका थिए ।








