एउटा इन्जिन र चार बोगीसहितको ट्रेन (रेल) शुक्रबार दिउँसो २ बजेतिर जनकपुर आइपुगेको छ ।
बिहीबार साँझ नेपाल भारतको सीमास्थित जयनगर स्टेशनमा आइपुगेको ट्रेन शुक्रबार दिउँसो २ बजेतिर जनकपुर आइपुगेको हो । रेल सेवा बन्द भएको झन्डै छ वर्षपछि सेवा विस्तार गरेर ब्रोडगेज रेल सेवा नियमित हुन लागेको नेपालको इतिहासमा नै यो पहिलो हो ।
जनकपुर–जयनगर रुटमा सञ्चालनको लागि भारतको सरकारी कम्पनी कोनकन रेल्वेज कर्पोरेसन लिमिटेडले निर्माण गरेको नयाँ दुई सेट रेल सो कम्पनीले अबको केही बेरमै नेपाल सरकारलाई हस्तान्तरण गर्ने रेल विभागका माहानिर्देशक बलराम मिश्रले जानकारी दिए । जनकपुरको पुरानो रेल्वे स्टेशनमा रेल हस्तान्तरणका लागि एक कार्यक्रमको आयोजना गरिएको छ ।
बहुप्रतिक्षित रेल जनकपुर आइपुगेपछि हेर्नका लागि स्थानीयवासीको व्यापक घुँइचो लागेको छ । नेपालको राष्ट्रिय झण्डाको रङ्ग रातो, निलो र सेतो पेन्ट गरिएको रेल भारतको पटनास्थित हाजीपुर स्टेशनबाट जयनगर हुँदै जनकपुर आइपुगेको हो ।
रेल विभागले २०१९ को मे महिनामा रु ८४ करोड ६५ लाखमा भारतको सरकारी कम्पनी कोनंकन रेल्वेज कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । इन्जिनसहित ६ वटा बोगीमा एकपटकमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रु यात्रा गर्नसक्ने र प्रति बोगीको सिट क्षमता ७५ रहेको बताइएको छ । यसअघि नेपालमा कोइला इन्जिन भएकोे रेल चल्ने गरेको थियो जुन विगत ६ वर्षदेखि बन्द अवस्थामा छ । अब भने डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्कने बिजुलीबाट चल्छ ।
महानिर्देशक मिश्रका अनुसार सबै तयारी समयमै पूरा भए एक महिनापछि सञ्चालनमा ल्याउन सकिन्छ । सरकारले २०७५ को पुसबाट जनकपुर–जयनगर रेल चलाउने घोषणा गरेको थियो । अहिले जनकपुर–जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा दुरुस्त अवस्थामा छैन । २०७५ मा गएको बाढीका कारण रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको विभागले जनाएको छ ।






