काठमाडौं असोज ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकमा सरकारको प्रभावकारी सञ्चालन र मन्त्रीहरुको हेरफेरका नीतिगत आधारबारे छलफल भएको छ ।
आन्तरिक सहमतिका साथ गत भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकपछि आइतबार पेरिसडाँडामा बसेको सचिवालय बैठकमा सङ्घीय मन्त्रिपरिषद्का सदस्यको हेरफेरका विभिन्न विकल्पलगायत विषयमा छलफल भएको थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड¬’ का अध्यक्षतामा पार्टी कार्यालयमा बसेको बैठकमा नीतिगत मापदण्ड तयार गरेपछि प्रधानमन्त्रीले मन्त्रीहरुको हेरफेर गर्ने जानकारी दिइएको थियो तर बैठकमा यसबारे कुनै निष्कर्ष भइसकेको छैन ।
साथै संवैधानिक निकायका रिक्त पदमा नियुक्ति, एकताका बाँकी कामलाई पूर्णता, महाधिवेशनको तयारीका लागि साङ्गठिक काम र योजनाबारेमा पनि बैठकमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिृए ।
यसैगरी कोरोना महामारीका समयमा सङ्घीय सांसद्ले बैठक भत्ता नलिने र केन्द्रीय सदस्यका लागि आर्थिक सहयोग गर्ने विषय पनि कार्यसूचीमा राखिएको जनाइएको छ । बैठक सोमबार अपराह्न पुनः बस्नेछ ।






