लन्डन ५ असोज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।
शुक्रबारदेखि आयोजना गरिएको सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणापत्रमा डाक्टर, नर्स, फिजिसियनलगायत विश्वभरि छरिएका सबै स्वास्थ्यकर्मीलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको भूमिका, आपसी समझदारीलगायत विषयसमेत घोषणापत्रले समेटेको छ ।
घोषणापत्रले नेपाली नर्सहरु, तथा मानसिक रोग विशेषज्ञहरुको विश्वव्यापी सञ्जाल निर्माणमा जोड दिएको छ । जडीबुटीजन्य औषधिको उत्पादन तथा विकासमा जोड दिइएको छ । त्यस्तै मातृशिशु स्वास्थ्य, बालबालिका, किशोरकिशोरी तथा युवावस्थाको स्वास्थ्यलगायत विषय घोषणापत्रमा समावेश गरिएको छ । प्राकृतिक प्रकोपका लागि स्वास्थ्यकर्मीहरुको समिति, दीर्घरोग व्यवस्थापन समितिलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।
सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुनसमेत घोषणा पत्रले आह्वान गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय, सरकारी, गैरसरकारी, स्थानीय निकायलगायत सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ ।
कार्यक्रमको समापन सत्रमा डा दिनेश ज्ञवाली, डा चन्द चटौत (सिकागो), डा भूपेश खड्का, डा कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. बोधराज सुवेदी (पोल्याण्ड), डा सुरज थापा (नर्वे), डा निकिता पाठक, डा लक्ष्मण पोखरेल, डा रमेश खोजु, डा सरिता भट्टराई, डा इशान अधिकारी, डा सुनिल शाह, डा भुपेन्द्र खड्का, डा नवराज केसी, डा निस्हिता पाठक, डा ड्रोना रसाइली (क्यानडा), डा सरोज निरौला (क्यानडा) , डा पुरु श्रेष्ठलगायतले आफ्नो धारणा प्रस्तुत गरेका थिएका थिए ।
त्यस्तै एनआरएनए आइसीसीका को–चेयर सत्यनारायण चौधरी, यस्मिन बेगम सइद, मञ्जु सङ्ग्रौला, एकनाथ खतिवडा, किरन सापकोटा, दोना पाण्डे, रजनी प्रधान, गोविन्द श्रेष्ठ (सिकागो), जनक बराल, मुकुन्द केसी (दक्षिण अफ्रिका), सुन्दरी लामा (नर्स स्पेन), विमला सापकोटा एनआरएनए युथ संयोजकलगायतले आफ्नो धारणा राखेका थिए । जारी घोषणापत्र काजगमा मात्रै सीमित हुन नदिन कार्यान्वयन पक्षमा जोड दिनुपर्ने अधिकांशको धारणा थियो ।
दोस्रो विश्व स्वास्थ्य सम्मेलन समापन समारोहमा विभिन्न मुलुकमा रहेका २०० भन्दा बढी स्वास्थ्यकर्मी, सरोकारवाला तथा विज्ञहरुको सहभागिता थियो । पचासभन्दा बढी स्वास्थ्यकर्मी, विज्ञ तथा एनआएएनएका पधाधिकारीहरुले आफ्नो धारणा राखेका थिए ।






