
काठमाडौं असोज १० । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा उपत्यकामा चारसहित शनिबार ८ जनाको पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौंमा २० र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।
नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो । शनिबार काठमाडौंमा ५ सय ८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा संक्रमण देखिएको छ । नेपालमा कुल संक्रमितको संख्या आजसम्म ७१ हजार ८ सय २१ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ३ सय ४१ रहेको छ । २४ घन्टामा १ हजार १ सय ४७ जना संक्रति डिस्चार्ज भएका छन् ।






