मड्रिड, स्पेनका नवनिर्वाचित प्रधानमन्त्री पेड्रो सान्चेजले शनिबार सपथग्रहण गर्ने भएको छ ।
निवर्तमान प्रधानमन्त्री मारिआनो राजोएले आवश्यक विश्वासको मत संसद्मा पाउन नसकेपछि सान्चेज शुक्रबार नयाँ प्रधानमन्त्री बनेका हुन् ।निवर्तमान प्रधानमन्त्री राजोए विरुद्ध नेता सान्चेजले नै संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।
समाजवादी नेता नवनिर्वाचित प्रधानमन्त्री सान्चेज ४६ वर्षीय अर्थशास्त्री हुन् । तर उनलाई सरकार सञ्चालनको अनुभव भने छैन । स्थानीय समयानुसार उनले बिहान ११ बजे राजा फेलिपे छैठौंको अगाडी मड्रिडमा रहेको राजदरबारमा सपथ लिने कार्यक्रम रहेको छ ।
स्पेनमा निकै प्रभावशाली नेता मानिने ६३ वर्षीय राजोए गत सन् २०११ देखि राज्यको शक्तिमा थिए । उनका विरुद्धमा सान्चेजले गत मे २५ तारिखका दिन भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बनेका छन् ।
उनको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए । सोसलिस्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीले पनि पेड्रोलाई मतदान गरेका छन् ।
स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नवनिर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिएका छन् ।






