अस्ट्रेलिया । दसैं कपको उपाधि एडिलेड खुकुरी फूटबल क्लब (एकेएफसी) ले जितेको छ ।
दसैंको अवसर पारेर दक्षिण अस्ट्रेलियाको भिक्टोरिया स्क्वायरमा दुई दिनसम्म आयोजना गरिएको प्रतियोगितामा क्लबले प्रतिद्वन्द्वी भारतीय टोली सहिद भगतसिंह फूटबल क्लब (एसबीएस) लाई २–१ गोलको अन्तरले हराएको हो । प्रतियोगितामा नेपालका साथै भारतीय, अफगानी र नेपालीभाषी भुटानी फुटबल क्लबले सहभागिता जनाएका थिए । लिग चरण अन्तर्गत खेलाइएको प्रतियोगितामा तीन प्रतिद्वन्द्वी टिमलाई पराजित गर्दै दुबै टोली फाइनल प्रवेश गरेका थिए । विजेता खुकुरीले १ हजार ५ सय डलर नगद, ट्रफी लगायतका पुरस्कार जितेको छ ।
एकेएफसीका तर्फबाट पूर्व राष्ट्रिय खेलाडी जगजित श्रेष्ठले एक गोल गरेका थिए । विभिन्न उमेर समूहका १९ वटा क्लब सहभागी प्रतियोगितामा बालबालिका, महिलाका साथै ३५ वर्षमाथिका खेलाडीहरूले समेत प्रतिस्पर्धा गरेका थिए ।






