
काठमाडौं २५ असोज । प्राडा गोविन्द केसीले सरकारसँगको आठ बुँदे सहमतिपछि आइतबार बिहान अनशन तोडेका छन् ।
डा केसीलाई अनशनस्थल, त्रिवि शिक्षण अस्पतालमा एक सरसफाइ कर्मचारीले जुस पिलाएर अनशन तोडाएका हुन् । केसीले गत भदौ १९ गतेदेखि जुम्लाबाट १९औँ अनशन शुरु गर्नुभएका स्वास्थ्यस्थिति खराब हुन थालेपछि सरकारले काठमाडौँ ल्याएको थियो ।
शनिबार राति सरकारी वार्ता समिति र डा केसीबीच आठ बुँदे सहमति भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव एवम् वार्ताटोलीका संयोजक गोपी मैनाली र डा केसीले सहमतिमा हस्ताक्षर गरेका थिए ।
सरकारले मेडिकल शिक्षाका लागि विभिन्न ठाउँमा कलेज स्थापना गर्न लागेसमेतको जानकारी गराउँदै गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको जनाएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयम मूल्याङ्कन प्रतिवेदन पेश गरिसकेको छ ।






