लन्डन कात्तिक ४ । बेलायतमा मृत्यु भएका पूर्वगोर्खा आर्मी मेखबहादुर गुरुङको अन्त्येष्टि गरिएको छ । नजिकका नातेदार र आर्थिक अभावका कारण अन्त्येष्टिमा अन्योल छाइरहेको बेला एनआरएनए यूकेका पूर्वउपाध्यक्ष एवं समाजसेवी शेरबहादुर सुनार लगायतका व्यक्तिहरुले अर्थ संकलन गरेर मेखबहादुरको गिलफोर्ड सेमेन्ट्रीमा १४ अक्टोबरका दिन अन्त्येष्टि गराएका हुन् । अल्डरसटमा रहेका स्व गुरुङ (२/६ GR)का आर्मी नम्बर २११५२९२२ का लेसकोपरल थिए ।
गुरुङ संस्कार अनुसार मेखबहादुरको पितृ पुजा देवाचन बुद्धिस्ट सेन्टरका संस्थापक संरक्षक एवं अध्यक्ष दोर्जे लोपेन धर्म लामा गुरुङले गरेका थिए ।
पुर्ख्यौली घर मकवानपुर भई पछि काठमाडौं बसेका मेखबहादुर हाल अल्डरसटमा बस्दै आएका थिए । उनका श्रीमती विन्दुदेवी गुरुङ, छोरा सुरज गुरुङ र छोरी पुजा गुरुङ छन् ।
मेखबहादुरको ७७ वर्षको उमेरमा २ अक्टोबर २०२० मा बेलायतमा निधन भएको हो । सन् १९४३-७-७ मा जन्मेका उनी भर्ती सन् १९६० ब्रिटिस आर्मीमा भर्ती भएर १९६८ अवकाश पाएका थिए । सैनिक सेवामा रहँदा हङकङ, ब्रुनई र सिंगापुरमा काम गरेका थिए ।
मेखबहादुर गुरुङको अन्त्येष्टि कार्यक्रममा तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङ, सिर्जनशील नेपाली समाजका अध्यक्ष भक्तबहादुर दर्जी,
एनआरएनए इंग्ल्यान्ड राज्य समितिका उपाध्यक्ष एलबीजेड गुरुङ, युथ एशोसिएसन अल्डसटका अध्यक्ष राजेन्द्र गुरुङलगायतको सहभागिता रहेको समाजसेवी शेरबहादुर सुनारले जानकारी दिए । उनका अनुसार त्यस अवसरमा मिमोसा अल्डरसटका जेनेरल म्यानेजर दिल नेपाली, मिमोसा म्यानेजर दिपक पुन सहभागी थिए । त्यस्तै भक्ती भण्डारी, सुरेन्द्र मगर, मिन गुरुङ र सुरेश गैरे पनि स्व. मेखबहादुर गुरुङको अन्त्येष्टिमा सहभागी थिए ।







