लन्डन । बेलायती भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूसँग सम्बन्धित विभिन्न संस्थाले भोटेकोसीबाट पीडित भएकाहरूका लागि ६२ लाख ५३ हजार ७०३ रुपैयाँ सहयोग गरेका छन् ।
सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरिएको हो । अभियन्ता कृष्ण वान्तवा राईका अनुसार सहयोग गर्ने सात संस्था तथा व्यक्तिमध्ये सत्याग्रह एन्ड बीजीएनसीसीले सबैभन्दा बढी ३३ लाख ४३ हजार ९९६ रुपैयाँ प्रदान गरेको छ ।
त्यस्तै, २ गोर्खा राइफल्सले ७ लाख ९१ हजार १००, गोर्खा पेन्सन इन्जस्टिस ग्रुपले ६ लाख ४९ हजार १३५, इन्टेक १/८१ ले ५ लाख २७ हजार ६२७ र क्युओजीएलआरले ४ लाख रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी गोर्खा नेपालीज वेलफेयर सोसाइटीले ४ लाख ८१ हजार ८४५ र मेजर हितमान गुरुङ एमबीईले ६० हजार रुपैयाँ सहयोग गरेका छन् ।
चन्दा रकम हस्तान्तरण गर्न गएको प्रतिनिधिमण्डलमा ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, बीजीएनसीसीसी–युके/नेपालका प्रमुख संयोजक सन्तोष थलङ, फुर्बा शेर्पा, लालबहादुर घिसिङ, ठाकुरसिंह गुरुङ, कृष्ण केदेम, कृष्णबहादुर राना र आशमान राई सहभागी थिए।






