यात्रा संस्मरण : स्मृतिमा सेन्टोरिनी

SHARE:

सन् २०१८ को ग्रीष्म ऋतुको बिदामा ग्रीसको सेन्टोरिनी भ्रमण गर्ने योजनाअनुसार चार महिनाअगावै हामी तीन परिवारका नौ जना सदस्यले हवाई टिकट र होटल बुक गरिसकेका थियौँ। सोहीअनुसार ४ अगस्ट, शनिबार अपराह्न करिब दुई बजे म, सुशीला, मनिष, प्रमिला दिदी र प्रेम दाइ गेटविकतर्फ लाग्यौँ। एयरपोर्ट जान र आउन आफ्नै कार प्रयोग गर्दा निकै सस्तो र सहज हुने विचार गरेर हामीले एयरपोर्टनजिकैको लामो अवधिको पार्किङ बुक गरेका थियौँ, जुन गेटविक एयरपोर्टबाट १५ मिनेटजति टाढा थियो। हाम्रो सल्लाहअनुसार तेज लिम्बु दाइको परिवार त्यहाँ भर्खरै पुग्नुभएको रहेछ। हामीले कार पार्क गरेर पार्किङ अफिसमा चाबी बुझायौँ अनि त्यहाँ उपलब्ध निःशुल्क सटल बसमा चढेर एयरपोर्ट पुग्यौँ।

नर्वेजियन एयरको हाम्रो उडान तोकिएको भन्दा एक घण्टा ढिलो उड्यो। झन्डै साढे तीन घण्टाको उडानपश्चात् सेन्टोरिनीको थिरा एयरपोर्टमा अवतरण गर्दा स्थानीय समय राति ११ बजेको थियो। एयरपोर्टको सुरक्षा जाँच सकेर निस्कँदा आफन्त पर्खिनेहरूको भीडमा मेरो नामको ब्यानर बोकेर एक जना मान्छे पर्खिरहेको थियो, जुन हामीले होटलको सुझावअनुसार गाडी बुक गरिसकेको कारण थियो। मैले उसको नजिक गएर हात मिलाउँदै परिचय दिएँ। उनले खुसी व्यक्त गर्दै पूर्वीय युरोपेली लवजमा स्वागत गरे र केही पर पार्क गरिएको मिनिबसमा चढ्न अनुरोध गरे। त्यहाँबाट सेन्टोरिनीका झिलिमिली बत्तीहरूको दृश्य हेर्दै १५ मिनेटमै होटल पुग्यौँ। हामीले बुक गरेको फिलिपियोन नामक उक्त चारतारे होटल निकै नै चित्ताकर्षक थियो। त्यहाँका म्यानेजर थोमस भेसिलोस निकै विनयशील र सहयोगी थिए। उनले होटलका बारेमा हामीले जान्नुपर्ने कुराहरूको जानकारी दिँदै कोठाहरू देखाएपछि ढिलो भएको कारण हल्का खाना कोठामै उपलब्ध गराइदिए। हाम्रो युकेदेखिको यात्राको थकानलाई भोलि बिहानैदेखि हुने अद्भुत सेन्टोरिनीको रमाइलो भ्रमणको नौलो उमङ्ग र उत्साहले जितिरहेको थियो।

ग्रीस प्राचीन पाश्चात्य सभ्यता र इतिहासको धरोहर मानिन्छ, जसको राजधानी एथेन्सबाट सन् १८९६ मा ओलम्पिक सुरु भएको थियो। यसलाई प्रजातन्त्रको जन्मभूमि मानिन्छ, जहाँ पाइथागोरस, हेराक्लाइटस, डेमोक्रिटस, एरिस्टोटल, प्लेटो र सुकरातजस्ता अनेकौँ विश्वप्रसिद्ध विद्वान् व्यक्तित्वहरूको जन्म भएको थियो। यही देशको एउटा सुन्दर द्वीप हो सेन्टोरिनी। ग्रीसको भौगोलिक आकारविज्ञानमा महत्त्वपूर्ण विशेषता राख्ने ६ हजार द्वीपमध्ये जम्मा २२७ वटा मात्रै मानवबस्तीयोग्य छन्। यी द्वीपहरू ग्रीक संस्कृतिको एउटा अभिन्न अङ्ग हुन्। ग्रीसको दक्षिणतिर रहेको साइक्लाड्स (Cyclades) द्वीपसमूहमध्ये सेन्टोरिनी पनि उत्कृष्टमध्ये एक पर्दछ। फिरा, ओया र अथिनोस यहाँका मुख्य सहर हुन्। यसबाहेक ससाना गाउँहरू अक्रोटिरी, फिनिका, कमारी, मेसारिया, पेरिसिया आदि छन्। सत्रौँ शताब्दीमा ज्वालामुखीले तहसनहस बनाएको सेन्टोरिनीको ज्वालामुखी हाल निष्क्रिय अवस्थामा रहेको छ। अप्रिलको अन्तिम सातादेखि अक्टोबरको अन्तिमसम्म मात्रै पर्यटकको चहलपहल हुने यो द्वीपमा बाँकी पाँच महिना अत्यधिक चिसो र खराब मौसमका कारण होटल र यातायात सबै ठप्प रहन्छन्।

५ अगस्ट २०१८, बिहान करिब आठ बजे उठ्यौँ अनि सुशीला र म तयार भएर होटलको ग्राउन्ड फ्लोरमा रहेको रेस्टुरेन्टमा खाजा खान आउँदा प्रमिला दिदी र प्रेम दाइ अघि आएर कफी पिउँदै हामीलाई पर्खिरहनुभएको थियो। हामी आएको लगत्तै तेज दाइ र दिना बहिनी पनि आइपुग्नुभयो अनि हामी खाजाका लागि अघि बढ्यौँ। खाजा ग्रीसको परम्परागत शैलीको थियो। ताजा हस्तनिर्मित पाउरोटी, अण्डा, सलामी, ससेज, ओलिभ, फेटा चिज, स्थानीय थाइम (एक प्रकारको जडीबुटी) को मह र ओखर हालिएको ग्रीक दही, चेरी टमाटर, ताजा जुस, चिया, कफी र सिरियल थिए। हामीले ख्याल गर्दै ‘लन्चका लागि पनि अहिले नै खाने है’ भन्दै भरपेट खायौँ। त्यसपछि हामी सेन्टोरिनीको सुन्दरतामा रमाउन तयार भएर होटलको अगाडि भेला भयौँ। राति आइपुग्दा अँध्यारोमा नदेखिएको अलौकिक दृश्य देखेर हामी चकित भयौँ। सेतो होटल, सेतै सहर, सामुन्ने अगाडि नीलाम्य समुद्र, ठूला-ठूला पानीजहाज र त्यसको ठीक पल्लोपट्टि समुद्रको बीचमा सुसुप्त अवस्थामा रहेको ज्वालामुखीको कालो पहाड थियो। एउटा अलौकिक आनन्दको अनुभूतिले रोमाञ्चित बनाउने दृश्यहरू हेर्दै, फोटो खिच्दै यहीँनेर ४० मिनेटजति समय खर्चियौँ। व्यस्त जीवनको दुःखपीर पन्छ्याएर उन्मुक्त रमाउन निस्किएको हाम्रो आजको कार्यक्रम नै यही फिराको सौन्दर्यमा रमाउने थियो। यसैले हामीलाई समयको पाबन्दी थिएन। ३७–३८ डिग्रीको गर्मीमा कालो चस्मा, टोपी, रुकस्याकमा पानी र फलफूल बोकेर प्रकृतिको अलौकिक सुन्दरतामा रम्दै, फोटो खिच्दै सुस्त गतिमा अगाडि बढ्यौँ।

फिरा आधुनिक सेन्टोरिनीको राजधानी हो र ‘फिरा’ सेन्टोरिनीको प्राचीन नाम थिराको वैकल्पिक उच्चारणको नामको रूप मानिन्छ। सम्पूर्ण रूपमा सफा, सेतो चम्किलो रङ पोतिएको फिरा सहर थिराको पश्चिमी तटमा अवस्थित छ, जुन करिब ४०० मिटर अग्लो क्याल्डेरा नामक चट्टाने पहाडमा चित्ताकर्षक अर्धगोलाकार आकृतिमा फैलिएको छ। यहाँ मुख्यतः दुईवटा म्युजियम–पुरातात्त्विक (Archaeological Museum of Thera) र प्रागैतिहासिक (Museum of Prehistoric Thera) अनि प्राचीन समयका गिर्जाघर, सेतो अर्थोडक्स गिर्जाघर, क्याथोलिक चर्च अफ द डोर्मिसन र थुप्रै ससाना नीलो रङका डोम छन्।

प्रायः सेता घरहरूको बीचमा साँघुरो गल्लीजस्तो लाग्ने बाटोको दायाँबायाँ रेस्टुरेन्ट, कपडा पसल अनि सेन्टोरिनीको चिह्न अङ्कित सौगात पसलहरूले शोभायमान बजार गाडी निषेधित क्षेत्र थियो। रेस्टुरेन्ट र पसलका टेबलकुर्सीदेखि सबै साजसज्जा सेता थिए भने कतिपय पसलमा बिक्रीका निम्ति राखिएका विभिन्न डिजाइनका कपडाहरू पनि प्रायः सबै सेतै थिए। भनिन्छ, फिरा सेन्टोरिनीको सबैभन्दा आकर्षक सपिङ सहर हो। यहाँ घुम्दै गर्दा यही महसुस भइरहेको थियो। पर्यटकको केन्द्रबिन्दु भएकोले होला, रेस्टुरेन्टहरू निकै स्तरीय देखिन्थे। गेटमा टाँसिएको मेन्यु कार्डमा आँखा दौडाएँ, निकै महँगो थियो। यहाँ हिँड्दै जाँदा एकातिर नीलो समुद्र अनि अर्कातिर सेतो सहरको दृश्यले मनै उल्लासमय बनाउँथ्यो। हामी फिराको अनुपम सौन्दर्यमा रमाउँदै, फोटो खिच्दै सहरको अग्लो स्थानसम्म पुग्यौँ। त्यहाँबाट पारि देखिने ज्वालामुखीबाट निर्मित पहाड निया कमेनी जानका निम्ति तल समुद्रकिनारसम्म झर्न केबलकार र खच्चरहरू त्यहाँबाट जाँदा रहेछन्। हाम्रो निया कमेनी जाने योजना भोलि थियो। यो सहरको रात्रिजीवन हेर्न अहिलेका लागि दिनको कार्यक्रम स्थगित गरेर होटल फर्कियौँ। होटलमा आएर कोही स्वीमिङ खेल्न थाले, कोही फ्रिजबाट निकालेर तरबुजा खान थाले। मलाई भने निकै थाकेको महसुस भइरहेको थियो। यसैले मज्जाले ताजा सुन्तलाको जुस पिएर शीतलमा सुस्ताएँ।

हामी सबै तयार भएर डिनर बजारकै रेस्टुरेन्टमा गर्ने अनि रात्रिजीवन हेर्ने योजनाका साथ बजारतिर लाग्यौँ। पहिले डिनर खाने सल्लाहअनुसार हामी निक दे ग्रिल नामको रेस्टुरेन्टमा पस्यौँ। यहाँ सबैको रोजाइमा ग्रीसको परम्परागत जिरोस भनिने पोलेको सुँगुरको मासु, भात र सलाद पर्‍यो। मैले चाहिँ आफूलाई माछाको परिकार मनपर्ने भएकाले ग्रीस शैलीमा तयार भएको सी बास ग्रिल, रोस्ट आलु र सलाद खाएँ। त्यसपछि हामी दिनभरि घुमेकै स्थानहरूमा रातिको रौनक हेर्दै रमायौँ। फिरा सहरको उही स्थान, उही बाटो तर रङ्गीन लाइट र दिउँसोभन्दा बढी मानिसको भीडले हामीलाई दिन र रातको बीचमा बिल्कुलै फरक सौन्दर्य र अनुभूति दिइरहेको थियो।

६ अगस्ट, बिहान ब्रेकफास्ट खायौँ अनि अर्को सहर ओया (Oia) जानका निम्ति निस्कियौँ। ओयाको प्राचीन नाम अपानो मेरिया (Apäno Meria) हो। यो सेन्टोरिनीको उत्तर-पश्चिमी छेउमा अवस्थित, विश्वप्रसिद्ध भिरमा बनेको एउटा गाउँ हो। यो ज्वालामुखी विस्फोटबाट बनेको खाडल (caldera) को निकै माथि अवस्थित छ र यहाँबाट एजियन सागरको दृश्य देखिन्छ। उन्नाइसौँ र बीसौँ शताब्दीको मध्यतिर यसको समृद्धि चरमचुलीमा थियो। त्यसबेला व्यापारिक समृद्धि पूर्वी भूमध्यसागरदेखि रुससम्म फैलिएको थियो। सन् १९५६ को भूकम्पले यो सहरको आंशिक भाग क्षतिग्रस्त भएपछि पुनर्निर्माण गरिएको हो। सूर्यास्त हेर्नका लागि विश्वकै उत्कृष्ट ठाउँहरूमध्ये एक मानिन्छ, जसलाई हेर्न यहाँको किल्ला र भिरका किनाराहरूमा हरेक दिन मानिसहरूको भीड जम्मा हुने गर्छ। ग्रीसका हरेक स्थानको ऐतिहासिक पृष्ठभूमि छ। जे होस्, कुनै पनि ठाउँमा भ्रमण गर्न जानुअघि त्यहाँका बारेमा केही जानकारी लिने गर्छु, जसले भ्रमण अझै चाखलाग्दो र प्रभावकारी हुन्छ भन्ने लाग्छ।

अब जाऊँ क्रमशः भ्रमणतर्फ। हामी ओया जाने बसमा चढ्यौँ। करिब ४५ मिनेटमा पुगिने दूरीको भाडा १ युरो ८० सेन्ट मात्रै थियो। यो बेलायतको तुलनामा निकै सस्तो थियो। निकै साँघुरो बाटो, ससाना थुम्की परेका चट्टाने पहाडबीच नागबेलीझैँ परेका भिराला घुम्तीहरूमा मनै सिरिङ्ग हुन्थ्यो। यद्यपि बाटोवरपर भेटिने गाउँहरूमा रहेका सेता भवनहरू र तिनीहरूबीच आकाशे नीलो रङ पोतिएका डोमहरूले प्रदान गर्ने अद्भुत सुन्दरताले मनै फुरुङ्ग पार्थ्यो। ती बस्तीमा चट्टान र खस्रो माटोका कारण निकै नै उजाड देखिने जमिनमा पनि ओलिभ, अङ्गुर, फिग्स (नेभारा) र क्याक्टसका लहर मिलाएर रोपिएका बगैँचा र थुम्की परेका ससाना पहाडहरूले सजिएको प्रकृतिको सुन्दर छटाको दृश्यावलोकन गर्दै ओया पुग्यौँ। यो सहर प्राचीन ग्रीसको परम्परागत कला र संस्कृतिको नमुनाभन्दा फरक नपर्ला। यहाँ अवस्थित क्यासल अफ एगिओस निकोलस अनि त्यहीँबाट पश्चिमतर्फ फैलिएको एजियन सागरको नीलाम्य चमकमा अवस्थित ज्वालामुखीद्वारा निर्मित पहाड निया कमेनीको सौन्दर्य हेर्न लायक थियो।

ओया पुगेर वरपरको दृश्य हेर्दै जाँदा यस्तो लाग्यो मानौँ यो केवल स्थान नभएर एउटा चरम अनुभूति हो, जहाँ हामीले सुन्दरता, शान्ति र प्राकृतिक चमत्कारको सम्मिश्रण एकैपटक अनुभूत गरिरहेका छौँ। सानो ठाउँ भए पनि यसले अनेक विशेषता समेटेर आकर्षण प्रदान गरिरहेको थियो। तिनै अद्भुत कुराहरू–समुद्र र आकाशसँग सुन्दर मेल बयान गर्ने श्वेत रङका भवन र नीलो गुम्बजहरू, झाँकीजस्ता सानातिना घुमाउरा सडकहरू र पथरीला बाटाहरूमा हिँड्दा देखिने समुद्री दृश्यहरू अनि पुरानो ज्वालामुखीयुक्त टापुमा अवस्थित अलग भौगोलिक विशेषता र ऐतिहासिक पृष्ठभूमिको रसास्वादन गर्दै जाँदा हामीले गर्मी र हिँडाइको थकान पनि बिर्सिएका थियौँ। यही क्रममा करिब ४:३० तिर हामी त्यहाँको प्रसिद्ध सूर्यास्त हेर्ने स्थानमा पुग्यौँ। बिहानै टन्नै खाजा खाएर हिँडेको हामीले बसबाट ओर्लनेबित्तिकै चिसो तरबुजा र अन्य फलफूलको रस सेवन गरेकोले खासै भोकको महसुस गरेका थिएनौँ। तर पछि सूर्यास्त हुने समयसम्म भोक लाग्छ भन्ने हेतुले हल्काफुल्का खाजा खाने सल्लाह भयो। त्यहीअनुसार तेज दाइ र प्रेम दाइले नजिकै रहेको बजारबाट ड्रिङ्क्स र हल्का नास्ता अर्थात् ग्रीक पिटा र्‍यापहरू (गाइरोस र सुभ्लाकी), कबाब, बर्गर, ताता स्यान्डविचहरू र लुकोमादेस (मह हालिएका ग्रीक डोनटहरू) लिएर आउनुभयो। यहाँका स्थानीय व्यञ्जनहरूमा समुद्री खाना, ताजा फलफूल र पारम्परिक ग्रीक परिकार पाइन्छ, जसले स्वादमा रङ भर्छ। यही खाँदै, फोटो खिच्दै सूर्यास्त हुने समय पर्खिँदा मान्छेको घुइँचो अत्यधिक बढिसकेको थियो।

हुन त आफ्नै इलामको अन्तुबाट देखिने सूर्योदय हेरेको भए पनि समुद्रको सतहमा हुने सूर्यास्तको अनुभूति साँच्चै नै वर्णन गर्न नसकिने सुन्दर थियो। फोटोहरू लिने कोसिस गरेँ तर सामान्य क्यामेरा भएकोले गर्दा पनि होला, आफूले जीवन्त हेरेर महसुस गरेको दृश्य ५० प्रतिशत पनि फोटोमा उतार्न सकिएन। हुन पनि यसैले गर्दा नै आफू सशरीर उपस्थित भएर अनुभव गर्नुको भिन्नै महत्त्व रहन्छ। जुन हामीले त्यो बेला अनुभूत गर्‍यौँ, त्यो सदैव अन्तरमनमा अविस्मरणीय तस्बिर बनेर कुँदिएको छ।

७ अगस्ट, मंगलबार: आज बिहान पहिलो चरणमा निया कमेनी (ज्वालामुखी निर्मित टापु) जाने अनि दोस्रो चरणमा रातो बीच (Red Beach) जाने योजना बनिसकेको थियो। सधैँझैँ हामी १० बजेतिर आवश्यक सरसामानहरू बोकेर बाटो लाग्यौँ। फिराबाट जाँदा पोर्टसम्म केबलकारमा जाने र पछि उकालोमा फर्किंदा खच्चरमा फर्किने सल्लाह थियो। हामी समयमा नै आएकोले केबलकारका निम्ति धेरै कुर्नु परेन। केबलकारमा छ जना बस्न सकिन्थ्यो। हामी १० मिनेटमै बन्दरगाह पुग्यौँ। त्यहाँबाट निया कमेनी डुङ्गाबाट जानुपर्थ्यो। हामीले टिकट काट्यौँ। झन्डै १५० जनाजति यात्रु बोक्ने क्षमता भएको डुङ्गामा चढेपछि हाम्रो सामुद्रिक यात्रा सुरु भयो। समुद्रमा जहाज जति किनाराबाट टाढिन्थ्यो, उचाइमा रहेको सेतो सहर उत्ति नै नजिकिँदै गएको भान हुन्थ्यो। निकै पर पुगेपछि समुद्रबाट देखिएको कालो चट्टाने पहाडमा रहेको सेतो फिरा र ओया सहर अनि वरपर रहेका नीलो रङका डोमहरूको सौन्दर्य हेर्न लायक थियो। जीवनको एउटा अनमोल अनुभूतिको पल, सानो डुङ्गामा चढेर एजियन समुद्रमाथि अगाडि बढ्दै जाँदा, तरङ्गिँदै किनारातिर लम्किरहेका छालहरूझैँ मेरो मानसपटलमा हाम्रो देश नेपाल पनि समुद्रले छोएको भए अझै कति मनमोहक बन्ने थियो भन्ने सोच तरङ्गित भइरह्यो।

झन्डै २५ मिनेटको सामुद्रिक यात्रापश्चात् हामी निया कमेनी पुग्यौँ। पुरातात्त्विक खोजअनुसार सर्वप्रथम सन् १९७ ईसापूर्वमा पहिलो ज्वालामुखी विस्फोट भएयता सन् १९५० सम्म क्रमबद्ध रूपमा आठ पटक विस्फोट भएर निष्क्रिय रहेको ज्वालामुखी क्षेत्र हो यो। त्यस टापुमा कालो डढेको जस्तो लाग्ने चट्टान र धुलोबाहेक कतै-कतै ससाना काँडे पोथ्राहरू देखिन्थे। ह्वास्स धुवाँ र डढेको गन्ध आउने निया कमेनीको शिखर पुग्न पाँचवटा चेकपोइन्ट पार गर्नुपर्थ्यो। म अलि अस्वस्थ भएको कारण तेस्रो चेकपोइन्टसम्म पुगेपछि त्यहीँ बनेको टहरोजस्तो बिसौनीमा अरूलाई कुर्ने विचार गरेँ। मसँगै सुशीला र दिना बहिनी पनि अगाडि नजाने हुनुभयो। झन्डै ४० मिनेटपछि शिखर पुगेर प्रेम दाइ र प्रमिला दिदीलगायत अन्य सबै फर्किएपछि हामी पोर्टमा आएर फेरि अघिकै डुङ्गामा चढेर फिराको पोर्टमा आयौँ अनि माथि फिरासम्म आउनका निम्ति खच्चरमा चढ्यौँ। हुन त केबलकारमा नै पनि आउन सकिन्थ्यो तर खच्चरमा चढ्नु पनि रहरै थियो, भलै त्यो ३८ डिग्रीको गर्मी र नाक ठोक्किने उकालोमा निरीहमाथि चढ्नु पशु अधिकार हनन नै किन नहोस्!

फिरामा हामीले दिउँसोको खाना खाएर एकछिन विश्राम गर्‍यौँ अनि दिउँसो २ बजे हामी योजनाअनुरूप सेन्टोरिनीको पूर्वी तटमा रहेको कमारी जाने बसमा चढ्यौँ। निकै नै भव्य होटल, रिसोर्ट, रेस्टुरेन्टहरू, वाइनको फ्याक्ट्री र रङ्गीचङ्गी पसलहरू भएका ससाना गाउँहरू छिचोल्दै बस अगाडि बढ्यो। फिरादेखि कमारीसम्मको दूरी करिब नौ माइल मात्रै भए पनि निकै साँघुरो बाटो भएकोले हामीलाई त्यहाँ पुग्न आधा घण्टा लाग्यो। विभिन्न रिसोर्टहरू, कन्टिनेन्टल अनि सिफुड रेस्टुरेन्टहरू, निकै ठूलो सुपरस्टोर र खुला सिनेमाका निम्ति प्रख्यात कमारीका प्रायः घरहरू खुबै कुशलतापूर्वक सिँगारिएका थिए। चारैतिर मगनबेली र लहरे फूलहरूले झकिझकाउ थिए। ज्वालामुखीद्वारा निर्मित कालो चट्टाने भिरालो पहाडबाट सुरु भएको समुद्रको बगरै कालो बालुवाको थियो। ती बगरमा खाँबो गाडेर खरको छानोका ससाना गुम्बज आकारमा बनाइएका एकैनासे छाप्राहरू वल्लो छेउदेखि आँखाले नभ्याउने पल्लो छेउसम्म फैलिएका थिए। आफूलाई मनपर्ने खाना र पेय पिउँदै दुई जना मान्छे मज्जाले सुतेर वा बसेर आनन्दले समुद्रको दृश्यावलोकन गर्न सकिने प्रत्येक छाप्रो र फोल्डिङ कुर्सीहरू भाडामा लिनुपर्थ्यो। त्यहाँ कोल्ड ड्रिङ्क्स, फलफूल र स्न्याक्स बेच्न घरीघरी घुमन्ते पसलेहरू घुमिरहन्थे। नीलो समुद्रमा डुबुल्की मारेर रमाउने अनि छाप्रोमा बिसाउने कति सुन्दर क्षण थियो! साँच्चै नै वर्षमा एकपल्ट आफ्नो कामबाट फुर्सदको समय मिलाएर यसरी उन्मुक्त छुट्टी मनाउनु भनेको जीवनलाई तरोताजा राख्नु हो।

यहाँ हामीले भ्याएजति हरेक वस्तुहरू सकेसम्म उपभोग गरेर रमाइलो गर्‍यौँ। समुद्रमा खेल्यौँ, ग्रीसको टिपिकल खाना र पेय खायौँ अनि हरेक आनन्दमय पलहरूलाई अविस्मरणीय बनाई राख्न सक्दो तस्बिरहरूमा कैद गर्‍यौँ। त्यसपछि फेरि हामी रेड बीचतर्फ लाग्यौँ। अहिले पनि बाटो साँघुरै थियो तर फरक दृश्य थियो। बाटोको दायाँबायाँ अङ्गुर र ओलिभको बगानको हरियाली, कतै चाहिँ क्याक्टसको बगान देख्न पाइयो। झन्डै एक घण्टाको बस यात्रापछि हामी रेड बीच पुग्यौँ। अन्य स्थानहरूको तुलनामा पर्यटकहरूका निम्ति खासै केही सुविधा र कृत्रिम आकर्षण नभएको यो सानो रेड बीच, नीलाम्य समुद्रको रातो बगर र त्यससँग जोडिएको पूरै डाँडा सबै रातै भएकोले मात्रै आकर्षणको केन्द्र बनेको भान हुन्थ्यो। ढिलो आइपुगे पनि हामीले भरपुर रमाइलो गर्दै फोटोहरू खिच्यौँ। रेड बीचको रातो रङलाई पारि क्षितिजमा अस्ताउँदै गरेको सूर्यको रातो लालीले झनै मनमोहक बनाइरहेको थियो। यो रमाइलो छालरूपी तरङ्गहरूसँग निष्फिक्री लहरिँदै रम्ने क्रममा घर फर्किने समय नजिकै आइसकेको थियो।

८ अगस्ट, बुधबार, सेन्टोरिनीको अन्तिम दिन। होटलको नियमअनुसार हामीले बिहान ११ बजेसम्म कोठा बुझाइसक्नुपर्थ्यो। हाम्रो उडान साँझ १० बजे थियो। यस्तो अवस्थामा आफ्नो होटलमा बस्न आउने आगन्तुकहरूका निम्ति होटलले दिनभरिका लागि सामानहरू सुरक्षित राखिदिने व्यवस्था गरेको थियो। हामीले कोठा बुझाएर उनीहरूको स्टोरमा हाम्रो सामान राख्यौँ। त्यसपछि गत तीन दिन घुमेका स्थानहरू फेरि क्वाड बाइकमा सयर गर्ने सल्लाह गरेर तेज दाइ र मैले बाइक हायर गर्‍यौँ। प्रेम दाइ र प्रमिला दिदी अनि नानीहरू फिरा बजारमा रमाइलो गर्ने भए। हामी चार जना चाहिँ क्वाड बाइकमा पहिले बसमा हिँडेको बाटोलगायत घुम्न नभ्याएका गाउँतिर घुमेर रमाइलो गर्‍यौँ। यसरी एकपल्ट धित मर्ने गरी क्वाड बाइकमा सेन्टोरिनीको फन्को मारेपछि दिउँसो २ बजे बाइक बुझायौँ अनि सौगातस्वरूप केही किन्न फिरामा गयौँ। उतै खाना खायौँ अनि होटल फर्केर चाबी बुझायौँ। होटलका सहयोगी म्यानेजर थोमस भेसिलोसलाई यहाँ बसुन्जेल गरेको सहयोग अनि हार्दिकताका निम्ति धन्यवाद दिएर होटलले नै व्यवस्था गरेको मिनिबसमा चढेर एयरपोर्टतर्फ लाग्यौँ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!