बेलायतमा चर्चित हास्यकलाकार शैलेन्द्र सिम्खडालाई सम्मान

SHARE:

लन्डन । चर्चित हास्यकलाकार शैलेन्द्र सिम्खडालाई नेपाली समुदायको तर्फबाट भव्य सम्मान गरिएको छ।

बिहीबार बेलुका ह्यारोमा आयोजित एक विशेष समारोहमा नेपाली हास्यव्यङ्ग्य साहित्य र कला क्षेत्रमा सिम्खडाले पुर्‍याएको योगदानको कदर गर्दै उक्त सम्मान गरिएको हो। बीबीसी नेपाली सेवाका पूर्व सम्पादक सुमन खरेल तथा शिक्षाविद् डा भरत सिम्खडाले खादा ओढाएर सिम्खडालाई विशेष सम्मान गरेका थिए। सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार खरेलले गएको साढे चार दशकदेखि निरन्तर स्ट्यान्ड अप कमेडीद्वारा नेपाली दर्शकलाई हँसाउँदै आएका सिम्खडाले नेपालको हास्य व्यंग्य क्षेत्रको विकासमा ठूलो योगदान पुराएको बताए। उनले २०३७ साल देखि नै गाइ जात्रामा निरन्तररुपमा भाग लिंदै आएका सिम्खडाले समाजका विकृति विसंगतिहरु माथि कडा प्रहार गर्ने मात्रै हैन, रचनात्मक र सुधारका लागि पनि आवाज उठाउने गरेको बताए।

शिक्षाविद् डा भरत सिम्खडाले शैलेन्द्र नातामा आफ्नो काका पर्ने र आफुहरु काठमाडौँमा संगै कलेज पढ्ने गरेको बताए। उनमा सानै उमेर देखि नै हास्य चेत रहेको बताउँदै उनले निरन्तर हास्य व्यंग्य क्षेत्रमै आफ्नी प्रस्तुति दिएर शैलेन्द्र सिम्खडाले नयाँ पुस्तालाई पनि प्रोत्साहित गरेको जनाए।

कार्यक्रममा वरिष्ठ हास्यकलाकार शैलेन्द्र सिम्खडाले आफ्ना हास्यव्यङ्ग्य प्रस्तुति र ठट्यौलीमार्फत सहभागीलाई मनोरञ्जन गराएका थिए। संकल्प, आगो, देवासुर संग्राम जस्ता आफ्ना लोकप्रिय प्रस्तुति सहित पंचायतकालदेखि बालेन्द्र शाह ‘बालेन’ ले नेतृत्व गरेको वर्तमान सरकारका कमीकमजोरी माथि पनि चोटिलो व्यंग्य गरेका थिए। उनले प्रवासमा बसेर पनि नेपाललाई गाह्रो साह्रो पर्दा मन खोलेर सघाउने सबै प्रवासी नेपालीहरुलाई हृदयदेखि नै धन्यवाद दिए।

बिनोद सिम्खडाले संचालन गरेको कार्यक्रममा कृष्ण भट्ट, हरि भट्ट, बासु लामिछाने, अजिता सिम्खडा, तारा पौड्याल, केशव पुडासैनीलगायतले कविता वाचन गरेका थिए भने नवराज पाण्डेले गजल सुनाएका थिए। यसैगरी ट्वीङ्कल सिम्खडा,अद्भिका लामिछाने र एलिना सापकोटाले रोचक नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको सुरुमा गत भदौ १० गते भोटे कोशी बाढीमा परी ज्यान गुमाएकी शारदा सिम्खडा लगायत सबै मृतकहरुको सम्झनामा हरि भट्ट, समुद्र भट्ट र रमा भट्टले हनुमान चालिसा पाठ गरेका थिए।

सिम्खडा हास्यकलाकार मात्र नभई स्थापित कवि, साहित्यकार तथा रङ्गकर्मीसमेत हुन्। उनको व्यङ्ग्य कवितासङ्ग्रह ‘कालो अक्षता’ प्रकाशित छ भने ‘ब्रह्मास्त्र’, ‘सुकुम्वासी’, ‘एक्सरे’, ‘प्रजातन्त्रको पास्नी’, ‘ग्राण्ड डिजाइन’, ‘नाइटभिजन’ र ‘सिंहदरबारको गेट’ जस्ता सिर्जनामार्फत उनले नेपाली व्यङ्ग्य साहित्य र श्रव्य प्रस्तुतिमा योगदान पुर्‍याएका छन्।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!