काठमाडौं कात्तिक १८ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिन पार्टीको झन्डा आधा झुकाउने भएको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रतिनिधिसभा सांसदसमेत रहेका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । कांग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको बताए ।
यस्तै १९ गते सबै कार्यालहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको उनले बताए । पोखरा महानगरपालिका ७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।






