बेलायत । स्कट्ल्यान्डको एबर्डिनमा रहेको नेपालीहरुको सामाजिक संस्था नेप्लिज हिमालयन एशोसिएसनले निरन्तर सञ्चालन गर्दै आएको नेपाली भाषा पठनपाठन कक्षा पाँचौं वर्षमा प्रवेश गरेको छ ।
विभिन्न काम तथा अध्ययनका सिलसिलामा बेलायत आएका नेपालीहरुको छोराछोरीहरुलाई नेपाली भाषा शुद्धसँग बोल्न र नेपाली रीतिरिवाज, चाडपर्व तथा संकृतिको बारेमा जानकारी दिने मूल उद्देश्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । हरेक २ हप्तामा २ घण्टाको दरले कक्षा सञ्चालन गरिँदै आएको छ । नेपाली भाषा कक्षामा केही समयअघिदेखि नृत्य प्रशिक्षण कक्षा पनि थप गरिएको संथाका अध्यक्ष मीन भट्टले जानकारी दिए ।
एशोसिएसनले नेपाली अभिभावकहरुकै सहयोग लिएर नेपालमा रहँदा शिक्षण पेसामा लागेर अनुभव हासिल गरेका तथा भाषा र संस्कृतिमा रुचि भएका व्यक्तिहरुले पठनपाठन गराउँदै आएका छन् । एशोसिएसनका कार्यसमिति सदस्य तथा पत्रकार शिव तिवारीको संयोजकत्वमा मिन भट्ट, प्रकाश जिसी, कल्पना जिसी, तोया सापकोटा, सिर्जना पाण्डे, सागर सिम्खडा, सगुन न्यौपाने, चण्डिका लामिछाने लगायतको समूह क्रियाशील छ ।
कक्षा सञ्चालन भएको चार वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले नेपाली भाषा कक्षा निरन्तरताको प्रतिबद्धता व्यक्त गरे । संयोजक तिवारीले कक्षामा सहभागी नेपाली बालबालिकाहरु नेपाली भाषा प्रस्ट बोल्न, लेख्न र पढ्ने सक्ने भएको जानकारी दिँदै आजकल झनै प्रभावकारी भइरहेको बताए ।
एबर्डीन स्कट्ल्यान्डको माइल इण्ड प्राइमरी स्कुलबाट सुरु गरिएको नेपाली भाषा कक्षा हाल एबर्डिन सिटी काउन्सिलले उपलब्ध गराएको एशोसिएसनको आफ्नै कार्यालयमा सञ्चालन भइरहेको छ । नेपाली बालबालिकाहरुको उल्लेख्य सहभागिता रहेको भाषा कक्षामा ३ देखि १५ वर्षसम्मका नेपाली बालबालिकाहरुलाई विभिन्न समूहमा विभाजित गरी पठनपाठन हुँदै आएको छ । विगत वर्षहरुमा संस्थाले आफ्नै खर्चमा कक्षा सञ्चालन गरे पनि गतवर्षदेखि ’द नेसनल लोटरी’ नामक संस्थाद्वारा वर्ष २०१७ र २०१८ को लागि झण्डै ५ हजार पाउन्ड सहयोग प्राप्त गरेको समाजिक संस्थाका प्रोजेक्ट कोर्डिनेटर नवीन क्षेत्रीले बताए । प्राप्त रकम प्रभावकारी योजनासहित बालबालिकाहरुको बृहत्तर विकासमा खर्च गर्न पाउँदा खुसी लागेको भन्दै सबै नेपालीहरुबाट आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा रहेको सुनाए ।
संयोजक तिवारी तथा अध्यक्ष भट्टले संयुक्त रुपमा केक काटेर पाचौं वर्ष प्रवेशको स्वागत गरिएको सो अवसरमा आर्ट प्रतियोगिता गरी सहभागी उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । नेपाली भाषा शिक्षकहरुलाई सम्मान गरिएको थियो । झण्डै २ घण्टा चलेको कार्यक्रममा संस्थाका सल्लाहकारहरु डा. नारायण श्रेष्ठ, टक थापा, डा सोहन घिमिरे, बिजय सिग्देल, तोया सापकोटालगायतको सहभागिता रहेको थियो ।
स्कट्ल्यान्डको च्यारिटी नियमानुसार दर्ता भएको सामाजिक संस्था नेप्लिज हिमालयन एशोसिएसनले नेपालमा विभिन्न प्राकृतिक बिपदमा समेत सहयोग गर्दै आएको छ ।






