काठमाडौं मंसिर २३ । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । बुधबार दिउँसो अनलाइन कार्यक्रममार्फत दुई पार्टी एकीकरणपछि ‘विवेकशील साझा पार्टी’ घोषणा गरिएको हो । एकीकृत पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् । पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुनेछ ।
एकीकृत पार्टीको केन्द्रीय समितिमा दुवै पक्षबाट ६५-६५ जना सदस्यहरू रहने गरी कुल १३० जना केन्द्रीय सदस्य हुने र केन्द्रीय समितिको पहिलो बैठकले दुवै पक्षबाट बराबरीको सङ्ख्या (१३-१३ जना) मा सदस्यहरू रहने केन्द्रीय सचिवालय गठन गर्ने घोषणा पत्रमा उल्लेख छ । त्यस्तै एकता महाधिवेशनसम्म पार्टीको दैनिक कार्य सञ्चालनका लागि एकीकृत पार्टीको केन्द्रीय समितिले अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाई सोही अनुरूप पार्टीका काम कार्यवाहीहरू अगाडि बढाइनेछ । सोही कार्यविधि अनुसार दुई महिनाभित्र दुवै पार्टी मातहतका हाल रहेका सम्पूर्ण संरचनाहरू गठन, पुनर्गठन र समायोजन सम्पन्न गरिनेछ । आगामी ६ महिनाभित्र पार्टीको एकता महाधिवेशन सम्पन्न गरिनेछ ।






