लन्डन मंसिर २५ । गोरखा भूतपूर्व सैनिक संघ (गेसोले) जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवलाई स्मरण पत्र बुझाएको छ । सभापति कृष्णकुमार राई र उपसभापति जितबहादुर राईसम्मिलित टोलीले पार्टीको कार्यालय बालकुमारी ललितपुरमा बिहीबार अध्यक्ष यादवलाई गोरखाहरुको माग रहेको स्मरण पत्र हस्तान्तरण गरेको हो । सभापति कृष्णकुमार राईका अनुसार स्मरण पत्रमा दुवै देशका सरकारलाई प्राविधिक समितिले तयार पारी बुझाएको १३ बुँदे प्रतिवेदन र भूपू सैनिकहरुको नागरिकता निरन्तरता बारेमा गोरखाहरुको माग समावेश गरिएको छ ।
गेसो टोलीले सरकारलाई बुझाएको १३ बुँदे प्रतिवेदनको सम्बन्धमा जनता समाजवादी पार्टीको तर्फबाट नेपाल सरकारलाई चाँडोभन्दा चॉडो एक उच्चस्तरीय वार्ता समिति गठन गरी बेलायत सरकारसँग वार्ता गर्न ध्यानाकर्षण गरिदिन अनुरोध गरेको थियो । साथै गोरखाहरुको नागरिकताको सवालबारे जनता समाजवादी पार्टीले संसदमा समेत कुरा उठाई रहेकोमा संस्थाको तर्फबाट धन्यवाद दिइएको थियो ।
त्यस अवसरमा यादवले गोरखाहरुको समस्या आफूलाई अवगत भएको बताउँदै आफू र आफ्नो पार्टीले गोरखाहरुको सवालमा निरन्तर बोलिरहेको र भविष्यमा पनि बोलिरहने बताए । नागरिकताबारे पार्टीले संसदमा नागरिकता संसोधन प्रस्तावसमेत गरेको बताए ।






