पोखराको लेकसाइडमा सिसी टिभी क्यामरा सञ्चालन सम्झौता

SHARE:

पोखरा, २० पुस । पर्यटकीय शहर पोखराको लेकसाइड क्षेत्रलाई थप व्यवस्थित र सुरक्षित गराउन सडक छेउमा जडित सिसी टिभी क्यामरा मर्मतसम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काइ लिंक टेक्नोलोजीबीच सोमबार एकवर्षे सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई र टेक्नोलोजीका प्रोपाइटर राजेन्द्र तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतानुसार लिंकले आगामी एक वर्षसम्म उक्त सिसी टिभी क्यामराको उचित रेखदेख तथा मर्मत सम्भार गर्नेछ । परिषद्का अध्यक्ष भट्टराईले भने, “पर्यटकीय क्षेत्रमा सुरक्षाका कुरा थप महत्वपूर्ण हुन्छन्, प्राविधिक कुरामा सानोसानो कुराले समस्या ल्याउन सक्छ, तसर्थ प्राविधिक टोलीले नै यसको रेखदेख र सम्भार गर्‍यो भने थप समस्या आउन पाउँदैन, त्यसैले स्काइ लिंक टेक्नोलोजीसँग यो सम्झौता गरेका हौँ ।” उनका अनुसार सानातिना समस्याका कारण क्यामरा नचल्दा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण लेकसाइड क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्न सक्ने देखेर सम्झौता गरिएको हो ।

सम्झौतानुसार मर्मतसम्भार गरेवापत टेक्नोलोजीले यस वर्ष रु ६५ हजार लिने छ । लेकसाइडको शहीदचोकदेखि खहरे, डिहिको पाटन क्षेत्रसम्म २० क्यामरा तथा चौतर्फी अवलोकन गर्ने तीन क्यामरा जडान गरिएको छ । हालै परिषद्ले रु ६ लाख खर्चिएर ती क्यामरा मर्मतसम्भार तथा फेरबदल गर्दै चालु अवस्थामा ल्याएको हो । क्यामरा बिग्रँदा लेकसाइड क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भनी स्थानीयवासीले चिन्ता व्यक्त गरेका थिए । टेक्नोलोजीका प्रोपाइटर तिवारीले सम्झौतानुसार नै राम्रोसँग काम गरिने प्रतिबद्धता व्यक्त गरे ।

परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, निवर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेल, रेबान पोखराका उपाध्यक्ष नरेश भट्टराई, नेपाल पर्वतारोहण सङ्घ गण्डकीका अध्यक्ष शेषकान्त शर्मा, एगाका अध्यक्ष विश्वराज पोखरेल, वडा प्रहरी कार्यालय बैदामका प्रमुख यादव ढकाललगायतले सिसी टिभी क्यामराको महत्वका बारेमा आआफ्नो धारणा राखेका थिए ।

यसैबीच परिषद्का अध्यक्ष भट्टराईले व्यक्तिगततर्फबाट भिटोफका अध्यक्ष नवराज अधिकारी र नाट्टा पोखराका उपाध्यक्ष हरिराम अधिकारीलाई एकएक डिजिटल माइक्रोफोन सहयोग प्रदान गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!