
लन्डन पुस २२ । नेपाल तथा माल्टाका सार्वभौम संसदहरुबीच संस्थागत सम्बन्ध स्थापना गर्ने उद्देश्यले गणतन्त्र माल्टाको संसदमा माल्टा नेपाल संसदीय मैत्री समूह स्थापना भएको छ ।
लन्डनस्थित नेपाली दूतावासले बुधबार विज्ञप्तिमार्फत ‘माल्टा नेपाल संसदीय मैत्री समूह’ स्थापना भएको जनाएको हो । संसदीय मैत्री समूहमा गणतन्त्र माल्टाको प्रतिनिधिसभाका सांसदहरु क्रिस फिअर्न, एडवार्ड ज्यामिट लुइस, ग्लेन बेडिङ्फिल्ड, डेभिड एगिएस र रोबर्ट क्युटाजार सदस्य छन् ।
माल्टा समेत हेर्ने बेलायतस्थित नेपाली राजदूत दुर्गाबहादुर सुवेदी र गणतन्त्र माल्टाको प्रतिनिधिसभाकी सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन भएको दूतावासले जनाएको छ । समूहका माध्यमबाट दुवै मुलुकका संसदका सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदानमा सहयोग पुग्ने समेत अपेक्षा छ । माल्टा तथा नेपालबीच सन् १९८३ को सेप्टेम्बर २५ कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।






