काठमाडौं माघ ९ । प्रतिनिधिसभा विघटनविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शुक्रबार काठमाडौं विशाल सभा गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम सर्वोच्च अदालतले उल्ट्याउने विश्वास व्यक्त गरेका छन् । उनले अदालतले सरकारको कदमलाई सदर गरेमा सडकबाटै सच्याउन प्रयास गरिने चेतावनी दिए । अदालतले सरकारको कदमलाई प्रोत्साहन गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया ‘डिरेल’ हुन्छ भन्ने चिन्ता आफूलाई रहेको उनले बताए । विसं २०६२/०६३ को जनान्दोलन जसरी नै अहिले सिङ्गो मुलुक प्रतिनिधिसभा विघटनविरुद्ध फेरि पनि सङ्घर्षमा उत्रिएको जिकिर गर्दै उनले नेपाली जनता जागिसकेको र प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म नसुत्ने विचार राखे ।
उनले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान घोषणा भएपछि राजनीतिक स्थायित्व होस्, रोजगारी सिर्जना होस्, आर्थिक समृद्धि होस् भन्ने चाहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै जनताका पक्षमा काम हुन नसकेको आरोप लगाए । सहमति गर्ने तर लागू नगर्ने, प्रधानमन्त्री पाउनका लागि जे पनि सहमति गरिदिने तर सत्ता प्राप्त गरेपछि एउटा पनि कार्यान्वयन नगर्ने लक्षण शुरुदेखि नै आभास भएको पनि उनले टिप्पणी गरे ।
अध्यक्ष दाहालले अब पार्टीभित्र विधान र निर्णय नमान्ने प्रवृत्तिलाई उदार भएर अगाडि जान नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
आमसभालाई पार्टीका अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटीका सदस्य घनश्याम भुसालले सम्बोधन गरेका थिए । सभा अगाडि हजारौँ नेताकार्यकर्ताले राजधानीका विभिन्न नौ स्थानबाट जुलूस निकालेका थिए ।






