
काठमाडौं माघ २१ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि सुरू गरेको कोभिड-१९ विरुद्धको खोप अभियानको सराहना गर्दै यस अभियानमा सहयोग गर्न संयुक्त अधिराज्य इच्छुक रहेको जानकारी गराएकी छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बुधबार बिहान शिष्टाचार भेटका क्रममा राजदूत पोलिट सो प्रस्ताव अघि सारेकी हुन् । उनीहरुबीच नेपाल र संयुक्त अधिराज्यबीच रहेको मित्रता र द्विपक्षीय सहयोगका विविध पक्षका सम्बन्धमा छलफल भएको उनको सचिवालयले जनाएको छ । भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपाल र संयुक्त अधिराज्यबीच दुई शताब्दीदेखिको महत्वपूर्ण र निरन्तर सम्बन्ध रहेको चर्चा गरे ।
उनले नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लासगोमा हुन गईरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरिन । उक्त भेटका क्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्रस्थापना गरी सम्बन्धित मन्त्रालयहरु मार्फत् सो रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि चालेको अभियानले रोग पहिचान र नियन्त्रण प्रभावकारी भएको जानकारी दिएका थिए ।
संयुक्त अधिराज्यबाट नेपालको विकासमा भैरहेको सहयोग र कोभिड-१९ को उपचारका निमित्त सहयोग गर्ने प्रतिबद्धताका लागि नेपाल सरकारको तर्फबाट पोखरेलले धन्यवाद व्यक्त गरेका थिए । भेटमा उपप्रधानमन्त्री पोखरेलले नेपालको समृद्धि, स्थिरता र विकासको अभियानमा संयुक्त अधिराज्यको निरन्तर सहयोग रहने अपेक्षा समेत व्यक्त गरेका थिए ।






