लन्डन माघ २२ । आन्दोलनरत नेकपाको बेलायत समितिले नेपालमा प्रतिनिधिसभा भंग गर्ने निर्णयका विरुद्धमा बृहत कार्यक्रम गर्ने भएको छ । समितिका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा यही आइतबार बसेको समितिको बैठकले विभिन्न समसामयिक प्रस्तावहरुमाथि छलफल गर्दै आउने आइतबार अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । पार्टीको प्रवास समन्वय समितिको निर्देशनबमोजिम नेपालमा भईरहेको प्रतिगमन विरोधी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पहिलो र दोश्रो चरणको आन्दोलनमा समितिले ऐक्यबद्दता जनाउँदै प्रतिगमन विरोधी वक्तव्य र भर्चुअल रूपमा विरोध कार्यक्रम गरेको थियो ।
पहिलो र दोस्रो चरणको कार्यक्रम सफल रहेको र अब तेश्रो चरणको आन्दोलनमा ऐक्यबद्दता जनाउन सो अन्तरक्रियाको कार्यक्रम गर्ने निर्णय गरिएको समितिका सचिव सुरेश गौतमले जनाएका छन् । भर्चुअल रुपमा गरिने अन्तरकृयामा बेलायतस्थित नेपाली क़ानून विज्ञहरू, विभिन्न विज्ञहरू र नेपालका राजनीतिक दलसंग आवद्द संगठनका नेताहरू समेतको सहभागिता गराउने निर्णय भएको छ।
अन्तरकृयामा संगठनमा आवद्द सबै सदस्यहरूको सक्रिय सहभागिता रहने साथै अन्य संगठनहरूको समेत उल्लेख्य सहभागिता रहने बताइएको छ । यसैगरी संभव भएसम्म शनिवार नै समितिले नेपालस्थित क़ानूनविदहरूसंग पनि भर्चुअल छलफल गर्ने भएको छ।
बैठकले नेपालको विद्यार्थी आन्दोलनका नेता तथा २०३६ सालको अमृत साईन्स कलेज स्ववियू सभापति डा. चन्द्र लक्सम्बाको दुःखद निधनप्रति हार्दिक श्रध्दान्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ। भर्चुअल बैठक कमिटीका सचिव सचिव सुरेश गौतमले सञ्चालन गरेका थिए ।






