लण्डन माघ ३० ।

कोरोनाका कारण बेलायतको अर्थतन्त्र खुम्चिएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयको आँकडा अनुसार गतवर्ष बेलायतको कुल ग्राहर्स्थ्य उत्पादन ९.९ प्रतिशतले खुम्चिएको छ ।
यो बेलायतको सन् १७०९ यताकै सबैभन्दा कमजोर अर्थतन्त्र भएको बैँक अफ इङल्याण्डले बताएको छ । सो अवधिमा करिब १७ लाख मानिसहरुले जागिर गुमाएको पनि बताइएको छ ।
गत डिसेम्बरमा भने बेलायतको अर्थतन्त्र १.२ प्रतिशत वृद्धि भएको देखिएको छ । अतिथि सत्कार, कार बिक्री र कपाल काट्ने सैलुनहरुका कारण सो वृद्धि देखिएको बताइएको छ । यसले बेलायतलाई दोहोरो अंकको आर्थिक मन्दीबाट जोगाएको अपेक्षा गरिएको छ ।
कार्यालयका तथ्याङ्कशास्त्री जोनाथन अथोले कोभिड १९ को टेष्ट र ट्रयासिङ बढाइएकाले पनि अर्थतन्त्रमा सहयोग गरेको बताएका छन् । गत आर्थिक वर्षको अन्तिम चौमासिकमा लकडाउनको वावजुद आर्थिक वृद्धि भएको उनले बताए ।
सो अवधिमा बेलायतको अर्थतन्त्र १ प्रतिशतले वृद्धि भएको थियो । बेलायतमा कुल ग्राहर्स्थ्य उत्पादनको मापन दोस्रो विश्वयुद्धपछि शुरु गरिएको हो । त्यसयता हालसम्ममा सबैभन्दा धेरै ४.१ प्रतिशतसम्म अर्थतन्त्र खुम्चिएको पाइएको थियो ।






