मार्च २१ को राष्ट्रिय जनगणनामा सहभागिताबारे वेल्समा अन्तरक्रिया

SHARE:

लन्डन फागुन १० । बेलायतमा यही मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा वेल्समा रहेका नेपालीहरुको सहभागिताका बारेमा वेल्समा अन्तर्क्रिया सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ वेल्स राज्य समितिको आयोजनामा भएको कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालयमा प्राध्यापनरत सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेका डा. कृष्ण अधिकारीले बेलायतको कानुनअनुसार बसोबास गर्ने सबैले जनगणनामा भाग लिनैपर्ने र जनगणनामा भाग नलिइएको थाहा पाएमा १ हजार पाउण्डसम्म जरिवाना र कालोसूचीमा राखिन सक्ने बताए ।

जनगणनामा भरिएका विवरणहरु सरकारका कुनै पनि निकायले १०० वर्षसम्म हेर्न नपाउने कानुनले नै ग्यारेन्टी गरेकाले ढुक्क भएर फाराम भर्न अनुरोध गरे । जनगणना फाराम भर्दा इथ्निसिटी समूहमा र मुख्य भाषाको प्रश्नमा कतै अलमल नगरी ‘नेपाली’ लेख्न डा. अधिकारीले अपील गरे । ‘इथ्निसिटीको प्रश्नमा नेपाली नलेखी अन्यथा लेखिएमा आफ्नै खुट्टामा बन्चरो हान्नुसरह हो’ उनले भने । जनगणनाका बारेमा नेपाली समुदायबीच प्रचारप्रसार गर्न र सहयोग चाहिने समुदाय र परिवारलाई सहयोग गर्न अपील समेत उनले गरे ।

वेल्सका कम्ब्रान, ब्रेकन, आभरगाबेनी, कार्डिफलगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायका नेतृत्वको उपस्थिति रहेको थियो । सहभागीहरुले जनगणनाका विविध प्रक्रिया र नेपाली समुदायले कसरी सहभागिता जनाउने भन्ने बारेमा जिज्ञासा राखेका थिए । ती प्रश्नहरुको जवाफ डा. अधिकारीले दिएका थिए ।

छलफलको सहजीकरण एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए। एनआएएनए वेल्स राज्यसमितिका अध्यक्ष कृष्ण भण्डारीले वेल्सका सबै नेपाली संस्थाहरुको प्रतिनिधि रहेको एक समूह बनाइ जनगणनामा नेपालीहरुको सहभागितालाई प्रभावकारी थप छलफल र सहकार्य गरिने बताए । स्थानीय संघसंस्थाको सहयोग नभई जनगणनाको कार्य सफलतापूर्वक सम्पन्न गर्न सम्भव नभएकाले सबैलाई जुट्न अनुरोध गरे ।

तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, नेपलिज सोसाइटी वेल्सका अध्यक्ष नीरलाल मोक्तान, ब्रेकन नेपलिज कम्युनिटीका कार्यबाहक अध्यक्ष मेजर गुप्तमान गुरुङ, एनआरएनए वेल्स राज्य समितिका उपाध्यक्ष अमृत घले, वेल्स गोर्खा कम्युनिटी, कुम्ब्रानका अध्यक्ष खिम क्षेत्री, बद्री योङ्या, भोजनारायण रेग्मी, अमर मल्ल, पदम पुन, नेपाल पत्रकार महासंघ युकेका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेल, अध्यक्ष नरेश खपाङ्गी मगरलगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!