लण्डन फागुन १४ ।

लेबर पार्टीको लन्डन ब्रेन्ट बरो कमिटी अन्तर्गत ‘ब्ल्याक एण्ड माइनोरिटी एथ्निक’ बिएएमइ कमिटीको उपाध्यक्षमा बेलायतको नेपाली समुदायका एक सक्रिय अभियन्ता उमेशराज मोक्ताननिर्वाचित भएका छन् ।
बिहिबार सम्पन्न पार्टीको अधिवेशनले आफूलाई निर्विरोध रुपमा उपाध्यक्ष निर्वाचित गरेको जानकारी मोक्तानले गराए । कमिटीको अध्यक्षमा अफ्रिकी, महासचिवमा भारतीय र कोषाध्यक्षमा श्रीलंकन पृष्ठभूमि भएका ब्रेन्टकै काउन्सिलरहरु निर्वाचित भएको उनले बताए । लेबर पार्टीभित्र सन् १९९० मा स्थापना भएको ब्ल्याक एण्ड माइनोरिटी एथ्निक बिएएमइ कमिटी अफ्रिकी, एशिएनसहित जातीय अल्पसंख्यक समुदायलाई हेर्ने पार्टीको विभाग हो ।
लन्डनका वेम्बली, अल्पाटन, प्रेस्टन, किंग्सबरी, क्वीन्सबरी, प्रेस्टन, वील्सडन ग्रीन, इष्टर्नब्रिज पार्क लगायतका क्षेत्रहरु रहेको ब्रेन्ट बरोमा नेपालीहरुको पनि उल्लेख्य बसोबास रहेको छ । कमिटीको उपाध्यक्षका रुपमा आफूले ब्रेन्टबासी नेपालीहरुलाई स्थानीय बेलायती राजनीतिमा पनि सक्रिय बन्न उत्साहित गर्ने बताए । अल्पसंख्यक समुदायका सदस्यको रुपमा कुनै खालका समस्याहरु भए उपयुक्त समाधानका लागि पार्टी र काउन्सिलसम्म पुर्याउने काम आफूबाट हुने उनको भनाइ छ ।
मोक्तान अहिले लन्डन ब्रेन्टको लेबर पार्टीमा प्रेस्टन वडा संयोजक छन् । सन् २०११ देखि लेबर पार्टीमा आबद्ध उनी ब्रेन्ट बरो काउन्सिलको अल्पाटन वडामा हेल्थ एण्ड वेलबिइंग कम्युनिटी च्याम्पियनका रुपमा समेत काम गर्दै आएका छन् ।
बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एशोसिएसनका पूर्व अध्यक्ष मोक्तान नेपाली समुदायमा पनि सक्रिय रहँदै आएका छन् । बेलायतमा नेपालीहरुको संख्या बढ्दै गएको अनुपातमा स्थानीय राजनीतिमा सहभागिता बढ्न सकेको छैन ।अहिलेसम्म झिनो संख्याका नेपालीहरु मात्रै यहाँको राजनीतिमा सक्रिय छन् ।






