काठमाडौं फागुन २१ ।

सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
बिहीवार भएको सहमतिअनुसार शुक्रवार राष्ट्रिय सभा गृहमा भएको कार्यक्रममा संयुक्त हस्ताक्षर भएको हो । सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्री रामबहादुर थापा र विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूको सहभागिता रहेको थियो ।
सरकार र विप्लव नेतृत्वको नेकपाबीच यसअघि तीन बुँदे सहमति भएको थियो । सहमतिमा सरकार र विप्लव समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरू समेटिएका छन् ।
हस्ताक्षर समारोहमा सरकारका वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेश सल्लाहाकार भट्टराईले विगत एक वर्षदेखिको निरन्तरको प्रयासपछि वार्ता निष्कर्षमा पुगेको स्पष्ट पारे। राष्ट्रिय सभा गृहमा हस्ताक्षरअघि शुक्रवार नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।






