लन्डन फागुन २७ । एसिएन महिला एशोसिएसन (आमा) यूकेले विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
शनिबार भर्चुयल जुममार्फत विशेष कार्यक्रम आयोजना गरी नारी दिवस मनाइएको हो । यस वर्ष विश्वभर “चुज टु च्यालेञ्ज” नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको अवस्थामा आमाले विगतको भन्दा फरक ढंगले उक्त दिवस मनाएको हो । अहिले संसारभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ का कारण भर्चुयली मनाइएको सो कार्यक्रममा ‘आइए एम बेलमाया’ नामक वृत्तचित्र प्रदर्शन गरिएको थियो ।
गरिबीको रेखामुनी जन्मिएकी दलित परिवारकी बेलमाया नेपालीको जीवन कथामा आधारित वृत्तचित्र थुप्रै महिलाहरुको लागि प्रेरणाको श्रोत बन्न सक्ने सहभागीहरुको भनाइ थियो । वृत्तचित्र आइतबारसमेत प्रदर्शन गरिएको थियो ।
एशोसिएसनकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेसहारा लाश व्यवस्थापनमा महत्वपूर्व भूमिकामा जुट्दै आएबापत बीबीसीले यसवर्ष छनौट गरेको विश्वभरका १०० जना प्रभावशाली महिलाभित्र पर्न सफल सपना रोका मगर, ब्रिटिस गोरखा आर्मीकी क्याप्टेन अंशु गुरुङ, वारिष्टर स्नेह शाक्य श्रेष्ठ लगायतले नेपाली महिलाहरुले भोग्दै आएको समस्या, गर्दै आएको संघर्ष, चुनौती, संभावना, उत्थान, अधिकार लगायतको विषयमा आ–आफ्ना विचार राखेका थिए । उनीहरुले अझै पनि महिलाहरुलाई आफ्नै घरमा विभेद रहेको बताउँदै विभेदको अन्त्य घरैबाट हुनु पर्नेमा जोड दिए ।
आई एम बेलमायाकी निर्देशक सु कार्पेन्टर बेलायतबाट, सपना रोका मगर र बेलमाया नेपाली नेपालबाट सहभागी भएको कार्यक्रममा तमु धिं यूके आमा समूहकी अध्यक्ष सिता गुरुङले सपना रोका मगरको उच्च शिक्षामा सहयोग गर्ने उद्देश्यले हौसला स्वरुप आमा समूहको तर्फबाट ५० हजार नेपाली रुपैयाँ सहयोग गरेको बताएकी थिइन् भने तमु धिं यूके आमा समूहकी महासचिव यशोदा गुरुङले युवाहरुलाई कार्यक्रममा समावेश गरेकोमा खुसी व्यक्त गर्दै शुभकामना दिइन् ।
त्यस्तै, बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूके आमा समूहकी नवनिर्वाचित अध्यक्ष उर्मिला गुरुङले आफूहरुले बेलमाया नेपालीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, श्रद्धा गुरुङले संचालन गरेको जुम कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बेलायतकी अध्यक्ष प्रमिला लावुङ राईले आफ्नो प्रेरणादायी अनुभव सुनाउनु भएकी थिइन् ।
अन्त्यमा, वृत्तचित्र प्रदर्शनबाट ८०२ पाउण्ड संकलन भएको जानकारी गराउँदै विशेष अतिथिको रुपमा नेपालबाट सहभागी भएकी सपना रोका मगर तथा बेलमाया नेपाली, रिक्लेम दि फ्रेम कम्युनिटी फण्ड, गोर्खा सर्भिसेज लिमिटेडकी सुमन पुन, सुधा गुरुङ, मञ्जु राई, तमु धिं यूके आमा समूह, मोना यूकेलगायत सो वृत्तचित्रको टिकट खरिद गरिने सम्पूर्ण महानुभावहरुमा आमा यूकेले हार्दिक धन्यवाद व्यक्त गर्दै सपना रोका मगरको अभियानलाई सहयोग गर्न चाहने महानुभावहरुले आमा यूकेले सेटअफ गरेको “गो फण्ड मी” मार्फत सहयोग गर्न सकिने जानकारीका लागि सबैमा हार्दिक अनुरोध गरेको अध्यक्ष विभा गुरुङ र महासचिव सिर्जना पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।






