पोखरा चैत २ । गण्डकी प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा तेजबहादुर गुरुङ नियुक्त भएका छन् ।
गण्डकी प्रदेश मन्त्रिपरिषदको आइतबारको बैठकले गुरुङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । सदस्य सचिवका लागि गुरुङसहित नवराज अधिकारीले आवेदन दिएका थिए ।
मन्त्रिपरिषदको बैठकबारे जानकारी दिंदै गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण वस्नेतले गुरुङलाई गण्डकी प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम सदस्य सचिवमा नियुक्त गरेको जानकारी दिए ।
कास्की पोखरा महानगर पालिका वडा नं १६ अर्मला कोटमा जन्मिएका गुरुङ प्रारम्भिक चरणमा पृथ्वी नारायण क्याम्पसबाट बास्केटबल खेलबाट खेल जिवनको शुरुवात गरेका गुरङ २०३९ सालमा ह्याण्डबल खेललाई मुख्य खेलको रुपमा अङ्गिकार गर्दै अघि बढेका थिए । ह्याण्डबल खेलमा लामो समय योगदान दिएका गुरुङ हाल नेपाल ह्याण्डबल संघको अध्यक्ष रहेका छन भने नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष समेत हुन् ।
२०४० को सालको दोस्रो वृहत राष्ट्रिय खेलकुदमा गण्डकीलाई ह्याण्डबल खेलबाट स्वर्ण पदक दिलाउन भूमिका खेलेका गुरुङ अग्रेजी र राजनीतिशास्त्रमा स्नातक उत्तीर्ण गरेका छन् । उनी भारतको पटियालामा एनआइएस प्रशिक्षणमा गोल्ड मेडलिष्ट हुने पहिलो नेपाली हुन भने सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तानी समेत गरेका थिए ।
खेलाडी हुँदै टिमको प्रशिक्षक समेत रहेका उनले २६ भन्दा वढी देश भ्रमण गरिसकेका गुरुङ उनकै प्रशिक्षणमा हङकङमा नेपालले ह्याण्डबलमा पदक समेत जितेको थियो । उनले सन १९८५ मा जेर्डनको अम्मानमा सम्पन्न एशियन च्याम्पियनशिपमा नेपालको टिमको कप्तानी गर्दै मैदानमा उत्रिएका थिए । हाल उनी अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष समेत हुन ।
गुरुङले आफू प्रदेश खेलकुदको विकासका लागि कार्ययोजना सहित अघि वढ्ने बताए उनले भने–“मैले सात वुँदे उद्धेश्य सहितका कार्ययोजना प्रदेश सरकारमा पेश गरेको छु, खेलकुद मार्फत प्रदेशको समृद्धीका लागि सवै सँग हातेमालो गर्दै अघि वढ्ने प्रतिवद्धता जनाउँदछु ।”
सदस्य सचिव छनोटका लागि गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्री नर देवी पुनको संयोजकत्वमा तिन सदस्यिय समिती गठन गरेको थियो । समितीको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवर र खेल विज्ञ दिल बहादुर गुरुङ रहेका थिए ।






