एमालेका ओली र नेपाल-खनाल पक्षबीच वार्ता, एकताबद्ध बनाउन साझा अवधारणा बनाइने

SHARE:

काठमाडौं चैत २ । नेकपा (एमाले)लाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने भएको छ ।

एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन सोमबार बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्ने सहमति भएको हो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आजको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताए । उनले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने जानकारी पनि दिए । “अबदेखि नेताहरु विभिन्न चरणमा बसेर छलफल गर्नुहुन्छ । आजको छलफलले साझा धारणा निर्माण गरेको छ”, उनले भने, “यसको जगमा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने आधार सिर्जना गरेको छ ।”

नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रुपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताए । “बलियो एमालेले मात्र अरू वामपन्थीलाई पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध र नेतृत्व दिन सक्छ भन्नेमा साझा निष्कर्ष निकालेका छौँ”, उनले भने ।

बैठकमा नेपाल पक्षले आफूविना बसेको गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयमा असहमति जनाएको छ ।
प्रवक्ता ज्ञवालीले नेपाललगायत नेताहरुले फागुन २८ गते आफूहरुको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न भनेको जानकारी दिए । उनले अर्को पक्षको यही चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपुर्‍याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गरौँ भनेर आफूहरुले भनेको स्पष्ट पारे ।

छलफलमा सहभागी नेता भीमबहादुर रावलले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको छलफलपछि पत्रकारलाई जानकारी दिए । उनले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताएपछि एमाले २०७५ साल जेठ ३ गतेभन्दा अगाडिकै स्थितिबाट पार्टी अगाडि बढ्नुपर्ने बताए ।

एमालेका अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना पदाधिकारी हेरफेर, प्रदेश कमिटीको कार्यविभाजन, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो । आजको छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, ज्ञवाली, सुभास नेम्वाङ तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!