
बेलायतसहित विश्वमै कोरोना भाइरसको महामारी जारी छ । कतिपय देशमा केही नियन्त्रण उन्मुख देखिए पनि केही मुलुकमा फैलिरहेको समाचारहरु सम्प्रेषण भइरहेका छन् । कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित मुलुकमध्ये बेलायत पनि एक हो । बेलायतमा कोरोना भाइरस संक्रमण, यसको रोकथाम र सुरक्षित रहने लगायत विषयमा युवा डाक्टर सचिन गुरुङसँग प्रकाश गुरुङले गरेको कुराकानीको सम्पादित अंश :
१) विश्वभरी नै कोरोना महामारीको कहर अझै कम हुन सकेको छैन, कतिपय परिवारमा दुखैदु:ख छ । बेलायतमा झन् यसको प्रकोप बढी देखियो । यो कोरोना भाइरस (कोभिड १९) भनेको के हो ?
– कोरोना भाइरस पहिलेदेखि नै थियो तर अरु अरु टाइपको थियो । तर अहिले यो टाइपको कोरोना भाइरस २०१९ आएकोले त्यसलाई कोभिड–१९ भनिएको हो । कोरोना भन्ने शब्द ल्याटिन भाषामा क्राउन भन्ने बुझिन्छ । क्राउन राजा रानीले टाउकोमा लगाउने गर्दछन् । त्यो किन भनेको हो भने माइक्रोस्कोपमा हेर्ने बेलामा कोरोना भाइरसको आकार पनि क्राउन जस्तै गोलो हुन्छ त्यसैले कोरोना भाइरस भनिएको हो । मुख्यत: यसले स्वासनलीमा ईम्प्याक्ट गर्ने गर्दछ । साथै ज्वरो आउने, स्वासनलीमा इम्प्याक्ट गर्दा खानाको टेस्ट, गन्ध पनि हराउने गर्दछ । साथै छालादेखि मुटुलाई पनि असर गर्दछ ।
२) यो भाइरस कसरी फैलिन्छ ?
– कोरोना भाइरस लागेको मान्छेको खोकीको छिटा पर्दा, उक्त व्यक्तिको सामान चलाउँदा, नजिकै बस्दा, सानो कोठामा धेरै जना सँगै बस्दा, सासबाट, हावाबाट सर्ने गर्दछ । भाइरस नजिकै भएको अवस्थामा २ मिटरको दुरी नराखी बस्यौं भने पनि सर्ने गर्दछ ।
३) मास्क लगाउँदा सुरक्षित हुन सकिन्छ त ?
– मास्क लगाउँदैमा त्यसले सबै प्रोटेक्ट गर्छ भन्ने छैन । मास्क पनि लगाउनुपर्यो, सामाजिक दुरी पनि कायम गर्नुपर्यो । सकेसम्म धेरै ठूलो ग्यादरिङमा नबस्ने, घरपरिवारसँग मात्रै बस्ने, मास्क लगाएर अरु मान्छेहरुसँग टाढै बस्यो भने सुरक्षित हुन सकिन्छ ।
४) आइसोलेसन कुन अवस्थामा कति समय र कसरी बस्ने ?
– सुरुमा १४ दिन आइसोलेसन बस्नुपर्ने थियो । तर अहिलेचाहिँ १० दिनमा सारेका छन् । अब यो रुल सरकारले चेन्ज पनि गर्न सक्छ । ज्वरो, सुखा खोकी लाग्ने, गन्ध, स्वाद हराउने जस्ता लक्षणहरु देखिएमा आइसोलेसनमा बस्नुपर्छ । आइसोलेसनमा बस्ने व्यक्तिले घरमै बस्ने, अरु कसैसँग घुलमिल नगर्ने, सरकारको नियमअनुसार १० दिन आइसोलेसनमा बस्ने । यदि १० दिनसम्म कुनै लक्षण देखिएन भने टेस्ट गर्नुपर्दैन । तर १० दिन भित्रमा ज्वरो आयो, खोकी लाग्यो भने यूकेमा घरमै उपचारको व्यवस्था रहेको छ ।
५) आइसोलेसनमा बसेको व्यक्तिले कोरोना टेस्ट गर्दा नेगेटिभ आयो भने रिपोर्ट आएको कति दिनमा उनीहरु काममा जान सक्छन् ?
– रिपोर्ट नेगेटिभ आएपछि पनि कामको पोलीसीअनुसार फरक पर्छ । कुनै कुनै ठाउँमा के भनिएको छ भने ज्वरो आउन छोडेको २४ देखि ४८ घण्टाभित्र काममा जान मिल्छ । तर कुनै ठाउँमा चाहि नेगेटिभ आउने बित्तिकै कममा जान मिल्छ भनिएको छ । तर रिपोर्ट नेगेटिभ आयो भन्दैमा आफू ढुक्क हुन भने मिल्दैन । किनभने त्यो टेस्ट पनि सत प्रतिशत इलायकल हुँदैन । टेस्ट नेगेटिभ आए पनि ज्वरो आउने, खोकी लाग्ने जस्ता लक्षणहरु देखिरहेका छन् भने चिकित्सकको सल्लाह लिनुपर्दछ ।
६) उदाहरणका लागि आफ्नो परिवारको १ जनालाई कोरोना लक्षण देखियो भने सबै परिवारलाई नै पोजेटिभ देखिँदैन होला । यस्तो अवस्थामा आफ्नै परिवारभित्र चाहिँ कसरी जोगिने ?
– आफ्नै परिवारबाट जोगिन आफू कोठामा एक्लै बस्ने, सकेसम्म ट्वाइलेट पनि छुट्टै प्रयोग गर्ने, त्यो सम्भव भएन भने आफूले प्रयोग गरिसकेपछि राम्रोसँग सफा गर्ने त्यसपछि मात्रै अरुले प्रयोग गर्ने गर्नुपर्दछ ।
७) यसको उपचार घरमै पनि गर्न सकिन्छ भनिएको छ । के साँच्चै कुनै घरेलु जडिबुटी अथवा परम्परागत औषधिको प्रयोग गरेर यो रोग निको पार्न सकिन्छ त ?
–अहिलेसम्म साइन्टिफिक नलेज हेर्ने हो भने हामीले कुनै पनि कुरा यसको प्रमाण हेरेर मात्रै ट्रीटमेन्टको रुपमा चलाउने गर्दछौं । जडीबुटी खाएर, धामी झाँक्रीकोमा गएर यो रोग निको हुन्छ भन्ने छैन । त्यही भएर सकेसम्म त्यस्तो व्यक्तिकहाँ पैसा खर्च गर्ने कामचाहिँ नगर्नुहोला । र यस्तो उपचार गरें भन्दैमा ढुक्क भएर पनि नबस्नुहोला जसका कारण अरु स्वस्थ मानिसलाई तपाईंसँग खतरा हुन सक्छ ।
अर्को कुरा घरमै बसेर उपचार गर्ने भनेको खासै केही पनि होइन धेरैजसो मान्छेलाई त्यति लाइफ सेटिङचाहिँ हुँदैन । सम्भव भएकाले छुट्टै बस्ने नभए आवश्यक सतर्कता अपनाएर बस्ने गर्नुपर्दछ ।
८) अहिलेसम्मको मोडालिटीअनुसार कति प्रतिशत मानिसको मृत्यु हुने गर्दछ ?
अहिलेसम्मको मोडालिटीअनुसार १०० जनामा १ जनाको मृत्यु हुने गरेको छ । त्यसमा पनि कोरोना लागेको मान्छेमा अरु केही रोग थियो कि थिएन, उसको उमेर कति छ भन्ने कुरामा भर पर्छ । त्यसैले धेरै जसो व्यक्तिलाई रुघाखोकी लागेको बेलामा घरमै बसेर आवश्यक मात्रामा पानी पिउने, खाना समयमा खाने, आरामा गर्ने गर्यो भने यो भाइरस आफै मरेर जान्छ ।
९) कोरोना भाइरसको लक्षण बिग्रेर धेरै समस्या भयो भने हामीले कसलाई कहाँ सम्पर्क गर्ने ?
यसको प्रमुख लक्षण भनेको ज्वरो आउनु हो । लामो समयसम्म पनि ज्वरो आइरह्यो । प्यारासिटामोल खाएर पनि घटेन र यदि तपाईं यूकेमा हुनुहुन्छ भने सोमबारदेखि शुक्रबारसम्म जीपीलाई फोन गर्न सक्नुहुनेछ ।
१०) कोरोना लागेका कतिपय मानिसहरुलाई स्वासप्रस्वासको समस्या पनि देखिने गरेको छ । यस्तो अवस्थामा यदि अस्पताल जान सकिएन भने घरमै अक्सिजन ल्याएर युज गर्न सकिन्छ कि सकिँदैन ?
यो चाहिँ गर्नुहोस् म भन्न सक्दिनँ किनकि अक्सिजन ल्याएर पनि कतिपयललाई कति मात्रामा चलाउन भन्ने आइडिया नहुन सक्छ । अक्सिजनको हावा भनेको एकदमै डरलाग्दो हुन्छ । यसले आगलागीको समस्या पनि निम्त्याउन सक्छ । त्यसैले यसको प्रयोग चाहिँ घरमा भन्दा अस्पतालमा गरेको राम्रो हुन्छ ।
११) घरमा सम्पूर्ण सदस्यहरु नै आइसोलेसनमा बस्नुपर्ने अवस्था आयो भने त्यस्तो परिवारको कसरी सहयोग गर्न सकिन्छ ?
त्यस्तो परिवारको सहयोगका लागि घरको खानेकुराहरु किन्नुपर्यो भने अहिले त अनलाइनबाट पनि धेरै कुराहरु किन्न सकिन्छ । त्यस्तै कुनै औषधिहरु खाँदै गरेको अवस्था छ भने औषधि पनि घरमै डेलिभरी गर्ने व्यवस्था रहेको छ ।
१२) कोरोनाको टेस्ट कति बेला र कसरी गर्ने ?
अहिले त कोरोनाको टेस्ट धेरै तरिकाबाट गर्न सकिन्छ । तर सबैभन्दा राम्रो चाहिँ पीसीआर टेस्ट नै हो । पीसीआर टेस्टको लागी ११९ नम्बरमा कल गर्न सक्नुहुन्छ । बिरामी हुनुभयो भने १११ मा कल गर्ने । यदि तपाईं इन्टरनेट चलाउनुहुन्छ भने www.gov.uk भन्ने वेबसाइडबाट पनि टेस्ट गर्न सक्नुहुन्छ । सकिन्छ भने टेस्ट सेण्टरमा आफै जाने सकिँदैन भने टेस्ट किट घरमै पठाउने व्यवस्था पनि सरकारले गरेको छ ।
१३) अहिले त कोरोनाको खोपहरु पनि विभिन्न देशहरुमा आइसकेको छ । यूकेमा पनि यो खोप लगाउन सुरु भइसकेको छ । डाक्टर भएको कारण तपाईंले पनि यो खोप लिनुभयो होला यो खोपको बारेमा अलिकति बताइदिनुस् न ?
अहिलेसम्म यूकेमा ओपनिङ भएको भ्याक्सिन ३ वटा हो । अहिलेसम्ममा चलिरहेको चाहिँ २ वटा हो । सुरुमा आलेफाइजर भन्ने कम्पनीले निकालेको कोभिड १९ हो । त्यो चाहिँ डिसेम्बरदेखि नै सुरु भएको हो ।
खोपको लागि पहिलो प्राथमिकता चाहि नर्सिङ होम अनि त्यहाँका केयरहरुलाई दिइएको थियो । त्यसपछि अन्य समूहलाई प्राथमिकतामा राखिएको थियो । यसरी खोप लगाउने क्याटगोरी ९ चरणमा राखिएको छ ।
८० वर्षभन्दा माथि र फ्रन्टलाइन स्टाफ ७५ वर्षभन्दा माथिको समूह त्यसपछि क्रमश: ६५, ६०, ५५ र ५० वर्ष उमेर समूहका मानिसहरुलाई प्रथमिकतामा राखिएको छ । अन्त्यमा चाहीँ कुनै पनि रोग नलागेको स्वस्थ मानिसलाई सबैभन्दा अन्तिम प्रायोरिटीमा राखिएको छ । आगामी अगस्टसम्ममा सबै जनालाई यो खोप लगाइसक्ने सरकारको लक्ष रहेको छ । एउटा खोप लगाएको ३/४ हप्तापछि अर्को खोप लगाउनुपर्छ ।
१४) खोपको पहिलो डोज लगाइसकेपछि पनि कोरोना लागेको रेकर्ड छ कि छैन यूकेमा ?
अहिलेसम्म यो कुराको जानकारी भने आएको छैन । तर यो खोप लगाइसके पनि कोरोना भने लाग्न सक्छ । किनकि ३/४ हप्तासम्म यो खोपले काम नगर्न पनि सक्छ । खोप लगाएपछि ज्वरो आयो, खोकी लाग्यो भने आइसोलेसन बस्नुपर्छ र टेस्ट पनि गर्नुपर्छ । यो खोप लगाउँदैमा मास्क नलगाउने, बाहिर जतासुकै भिडभाडमा हिँड्ने कामचाहिँ गर्नु हुँदैन ।






