बैतडी चैत ८ ।

बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका अभियुक्त दिनेश भट्टले आफ्नो बयान फेरेका छन् ।
जिल्ला अदालत बैतडीको आदेशपछि दिपायलस्थित सुधार गृहमा रहेका दिनेशले बयान फेरेको उनका बुवा दीपकप्रसाद भट्टले दाबी गरेका हुन् । आफूले हत्यारालाई देखेको र कसैलाई बतायो भने मारिदिन्छु भनेका कारण हत्या स्वीकारेको बताएको अभियुक्तका बुवा भट्टले बताए । भागरथीको हत्या गर्ने एकजनालाई आफूले चिनेको समेत दिनेशले दाबी गरेको उनका बुवाले बताएका छन् ।
यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वकिलको कार्यालय बैतडीमा बुवा दिपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । यता सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले अनौपचारिक रुपमा सार्वजनिक भएका कुराहरुको अर्थ नरहेको बताए ।
घटना दिनेशले नै घटाएको हो भन्ने प्रमाण प्रहरीसंग रहेको दाबी उनको छ । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।






